×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नमस्ते सहकारीमा बचतकर्ताको २७ करोड गायब, अध्यक्ष र प्रबन्धक दुवै भागेपछि बचतकर्ताको बिचल्ली…

PRIME CA

नमस्ते सहकारीमा बचतकर्ताको २७ करोड गायब, अध्यक्ष र प्रबन्धक दुवै भागेपछि बचतकर्ताको बिचल्ली…

२३ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । बचतकर्ताको २७ करोड रुपैयाँ हिनामिना भएको भन्दै नमस्ते बचत तथा ऋण सहकारी संस्थाविरुद्ध लुम्बिनी सहकारी बोर्डले कार्वाही प्रक्रिया अघि बढाएको छ । बदिर्याको गुलरिया नगरपालिका ६ स्थित सो सहकारीका सञ्चालकले सहरकारीको ठूलो रकम हिनामिना गरेको स्थानीयको आरोप छ ।

संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो भने विगत दुई सातादेखि सम्पर्कबिहिन भएका छन् । अध्यक्ष र प्रबन्धक दुवै फरार भएपछि आवश्यक कागजात नियन्त्रणमा लिएर छानबिन सुरु गरेको लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहकारीमा कुल २७ करोड रुपैयाँ जम्मा भएको देखिएको छ ।

‘हामीलाई प्राप्त भएका कागजातहरुमा पनि लगानी भएको रकमको यकिन विवरण छैन’, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने – ‘केही फर्जी धितो बिनाको रकम पनि झिकेको देखिएको छ । सहकारीकै कर्मचारीले विभिन्न शिर्षकमा ३ करोड रकम चलाएको समेत पुष्टी भएको छ ।’

पछिल्लो समय रकम झिक्न भन्दै सहकारीमा पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ । पैसा झिक्न सहकारीमा पुगेका बचतकर्ताहरु संस्थाको कार्यालय बन्द देखेपछि कार्वाहीको माग गर्दै स्थानीय प्रहरी प्रशासनमा धाउन थालेका छन् ।

नमस्ते सहकारीमा रकम जम्मा गर्ने सानादेखि ठूला व्यापारी सबै फसे
यसो त सहकारीमा पैसा राख्नेहरुको एउटैमात्र उद्धेश्य ‘बढी ब्याज पाउनु’ हो । पछिल्लो समय सहकारीमा बढी ब्याज पाउने लोभमा साना तथा ठूला व्यापारीहरुले पैसा राख्न बैंकभन्दा सहकारी नै मन पराउथे । तर, पछिल्लो समय तिनै सहकारी एकएक गरी भाग्न थालेपछि अधिकांश बचतकर्ताहरुको बिल्लीबाठ भएको छ ।

नमस्ते बचत तथा ऋण सहकारीमा पैसा राख्नेहरु पनि अधिकांशले बढी ब्याजको लोभमा रकम जम्मा गराएका थिए । तरकारी, फलफूल, अण्डा बेच्ने व्यवसायीदेखि ठूला व्यापारीको समेत बचत रहेको सो सहकारी अहिले करोडौँ रकम हिनामिना गरेर भागेको छ । नमस्ते सहकारीमा बचतकर्ताले न्युनतम २० हजारदेखि १ करोडभन्दा बढी रकमसमेत जम्मा गराएका थिए ।

अन्य सहकारीमा खाता बन्द गर्नेहरु बढे
नमस्ते बचत तथा ऋण सहकारीको ठगी धन्दा बाहिरिएपछि अहिले बर्दियाका अन्य सहकारीमा रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

‘दिनहुँजसो सहकारी भागेको समाचार आउँछ । अहिले त आफ्नै ठाउँको सहकारीले पनि ठग्यो’, एक स्थानीयले भने, ‘अब सहकारीको भर लाग्न छोड्यो । मैले पनि दुःख गरेर सहकारीमा पैसा राखेको थिएँ । अहिले पैसा नि निकाले र खाता पनि बन्द गरिदिए ।’ सहकारीको ठगीधन्दा मौलाउँदा पनि नियमनकारी निकायले सही नियमनकारीको भूमिका निर्वाह नगर्दा यस्तो समस्या देखापर्ने स्थानीयले गुनासो गरेका छन् । अनुगमनकारी निकाय जिल्ला सहकारी संघ लगायतले नियमित नियमन नगरेको कारण यस्तो अवस्था आएको सेवाग्राहीले गुनासो पोखे ।

उक्त सहकारीमा भने तीन/तीन महिनामा गरिने लेखापरीक्षण समेत नगरिएको पाइएको छ । अध्यक्ष र प्रबन्धकले बैठक बसेको भन्दै संस्थाका पदाधिकारीको घर पुगेर सही गराउने गरेको सचिव मुकुन्द सुवेदी बताउँछन् । ’बचतकर्ताको रकम फिर्ता गर्नु पर्छ,’ उनले भने ’फरार भएका रिजाल र महतोलाई पक्राउ गरेपछि वास्तविकता आउने छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: