काठमाडौं । राधी विद्युत कम्पनीले १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज कार्तिक २९ गतेदेखि सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा लगानीकर्ताले आज कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
राधी विद्युतले गत असोज ५ गतेदेखि १४७ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर,इलाम, विर्तामोड, विरगंज, जनकपुर, नारायणगढ,हेटौडा,पृथ्विचोक/ पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।