Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको १२औं वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौं । सिभिल बैंक लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा अमृतभोग बैंक्वटमा बिहिबार सम्पन्न भएको हो ।

उक्त साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस सेयर वितरण गर्ने स्वीकृति प्रदान गरेको छ । सञ्चालक समितिबाट बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि एस राई एण्ड एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।

सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती (एक्विजिसन) कार्यलाई अन्तिम स्वीकृति पनि प्रदान गरेको छ ।

सिभिल बैंकलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कारवाहीहरुलाई अनुमोदन गरिएको बैंकले जनाएको छ ।

सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने र अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकीकृत कारोबार २०७९ माघ भित्र सुरु गर्ने योजना तयारी रहेको बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताए । करिब ८ लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटीएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK