×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रदेश मन्त्रालय घटाउदैछौँ, खर्चभार कटौती गर्दैछौँ’ – प्रधानमन्त्री

PRIME CA
GLOBAL IME BANK

‘प्रदेश मन्त्रालय घटाउदैछौँ, खर्चभार कटौती गर्दैछौँ’ – प्रधानमन्त्री

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेशका मन्त्रालयको संख्या घटाउने बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरुको टोलीसँग भेटवार्ता गर्दै प्रदेशका मन्त्रालयको संख्या र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको समेत बताएका हुन् ।

बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको खर्चभार कम गर्नका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन् । उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन र हामीले गर्दैनौँ पनि’, उनले भने, ‘तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ । यसलाई पारदर्शी र मितव्ययी बनाउन जरुरी छ ।’

‘मैले सत्ता साझेदार दलको बैठकमा प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको छु । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीजी लगायत सबै नेताहरू सहमत हुनुभएको छ’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ । सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन् । यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ ।’

प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने समेत बताएका छन् । ‘हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ तर प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ । प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ ।’

प्रधानमन्त्रीले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताएका छन् । ‘म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्नुहोला ।’- प्रधानमन्त्रीले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: