×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाटो नै नभएको ठाउँमा पुल बनाएको भन्दै तीनजनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, प्रदेश मन्त्रालयका सचिवसमेत तानिए

PRIME CA

बाटो नै नभएको ठाउँमा पुल बनाएको भन्दै तीनजनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, प्रदेश मन्त्रालयका सचिवसमेत तानिए

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बाटो नै नभएको ठाउँमा पुल बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार प्रदेश मन्त्रालयका तत्कालीन सचिव मरहट्टासहित भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुवैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

छानबिनका क्रममा भौतिक पूर्वधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

अख्तियारले पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ । उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । अनि गैरकानूनी रुपमा सरकारी वनको नोक्सानी गरेको आरोप पनि लगाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: