काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ । छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
उपमेयर डङ्गोलका अनुसार महानगरपालिकामा आउने उजुरीमध्ये हरेक दिन कोठा खाली गरिदिनुपर्यो भन्दै आउने उजुरी बढी छ । पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कबिहीन भएका उजुरी पनि अत्यधिक बढिरहेको छ । यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी बराबरी नै छन् ।
भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन् । संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको महानगरपालिकाको ठहर छ । यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ । त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्नेछ र नयाँले पनि गर्नुपर्नेछ ।
काठमाडौं महानगरपालिकाले अत्यधिक रूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार सबै घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्नेछ । सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।
‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ मा के छ ?
कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कशप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा, एकप्रति घरघनीले र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने व्यवस्था छ ।
सम्झौतामा घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय वडा कार्यालयमा बुझाउनुपर्नेछ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्नेछ भने त्यसको जानकारी वडा कार्यालयमा गराउनुपर्ने छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउनुपर्ने व्यवस्था छ ।
पछिल्लो समय महानगरपालिकाले निर्देशिका जारी गर्दै सम्बन्धित वडामा घर भाडामा लगाउने घरधनीले भाडामा बस्नेको विवरणसहित आउनुपर्ने जनाए पनि सो अनुरूप आउनेको सङ्ख्या थोरै रहेको जनाएको छ । महानगरपालिकाले बहाल करका लागि चालु आर्थिक वर्षमा २ अर्ब उठाउने लक्ष्य निर्धारण गरेकमा हालसम्मको अवधिमा १ अर्ब ४८ करोड १३ लाख असुल गरेको महानगरपालिकाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्