काठमाडौं । नेपाल महिला चेम्बरले ११३औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताएकी थिइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताईन् । राजनीतिक दलका नेताहरु जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरु समेत अवसरबाट बन्चित हुनु परेकोमा रोष प्रकट गर्दै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको खतिवडाले जिकिर गरिन् ।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरु पछाडी पारिएको जिकिर गर्दै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए । पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्ने औल्याएका थिए ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढ्न हौसला मिल्ने बताईन् । अधिकाँश महिलाहरु विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको अध्यक्ष श्रेष्ठले बताईन् । महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरु अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्दै उनले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोड समेत दिईन् ।
नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गरेर महिला उद्यमशिलताको विकास गर्नुपर्ने बताईन् । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने बताईन् । महिलाहरुलाई समान अवसर दिनुपर्नेमा अधिकारीले जोड दिईन् ।