×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक प्रकरण : एउटा अपराधको विषयान्तर गर्न ‘हुँदै नभएको’ हल्ला चलाएर पवित्राको निरन्तर चरित्रहत्या !

PRIME CA

एभरेष्ट बैंक प्रकरण : एउटा अपराधको विषयान्तर गर्न ‘हुँदै नभएको’ हल्ला चलाएर पवित्राको निरन्तर चरित्रहत्या !

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । एभरेष्ट बैंकको खाताबाट ग्राहकको करोडौं रुपैयाँ चोरेको पाइएपछि बैंकका तत्कालीन कर्मचारी निरज प्रधान यतिबेला प्रहरी हिरासतमा छन् । बैंकका अन्य कर्मचारीको युजरआईडीसमेतको दुरुपयोग गरी उनले ग्राहकको पैसा चोरेका थिए । ग्राहकको पैसा चोरेको स्वयम् उनले पनि स्वीकारेका छन् । प्रहरीले अनुसन्धानका क्रममा जसजसको युजरआईडी प्रयोग भएको छ, उनीहरुलाईसमेत प्रक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । यहि अनुसन्धानका क्रममा प्रहरीले बैंककि टेलर पवित्रा कटवाललाई पनि पक्राउ गरेको छ । उनकोसमेत यो प्रकरणमा मिलेमतो थियो वा उनले केहि चेकको भुक्तानी दिएको आधारमा उनी फसिन् भन्ने अनुसन्धान प्रहरीले गरिरहेको छ । उनी यति बेला अभियुक्त छिन्, अपराधी होइनन् । तर यतिबेला यो प्रकरणमा सबैभन्दा पीडामा उनी पवित्रा छिन् । किनकि यो घटनाको विषयान्तर गर्न निरजका साथीभाई र आफन्तले उनको निरन्तर चरित्रहत्या गरिरहेका छन् ।
ब्वाईफ्रेण्डलाई बाइक किन्न बैंक ठगी भन्दै निरन्तर ‘चरित्रहत्या’ !
पवित्रा बैंकमा तल्लो तहकी कर्मचारी हुन् । हेर्दा राम्री, र उनी निकट साथीहरुका अनुसार काममा पनि निकै मेहेनती छिन् पवित्रा । उनको सुन्दरतालाई अहिले हतियार बनाएर निरज प्रधानका केहि साथीभाईले फेसबुक लगायतका सामाजिक संजालमा ब्वाईफ्रेण्डलाई बाइक उपहार दिन बैंक ठगी गरेको भन्दै उनको तस्विरसमेत राखेर विभिन्न पोष्ट गरिरहेका छन् । नेपालको प्रचलित कानुनले यसलाई साइबरअपराधको कसुर भन्छ । स्रोतको हवाला दिंदै केहि संचारमाध्यमलेसमेत अपुष्ट समाचार प्रकाशित गरेका छन् ।  तर पवित्रा हिरासतमा छिन्, उनको परिवारलाई छोरी हिरासतमा छिन् भन्ने चिन्ता छ । उनीहरुसँग अव के गर्ने भन्ने उपाय बताईदिने कोहि छैन । केहि हजारको जागिर खाएकी पवित्राको परिवार अहिले यहि कारण समस्यामा छ । घर, छिमेक समाजमा मुख देखाउन गाह्रो भईरहेको छ ।
यदी पवित्राले अपराध नै गरेको भए पनि अहिले सो अपराधका विषयमा बल्ल अनुसन्धान सुरु भएको छ । अहिले उनी यो केसमा अभियुक्त छिन्, अपराधी होइनन् । तर सामाजिक संजालले उनलाई अपराधी नै करार गरिसकेको छ । अर्कोतर्फ उनका साथीहरु उनको कोहि पनि ब्वाईफ्रेण्ड नभएको बरु उनी विवाहित भएको बताईरहेका छन् । अर्थ सरोकारको सम्पर्कमा आएका उनी निकट एक बैंकर भन्छन्- ‘पवित्राजी विवाहित महिला हो । एकदम मेहेनती पनि हुनुहुन्छ । तर निरज प्रधान गलत छैनन् भन्ने देखाउन एभरेष्ट बैंककै केहि कर्मचारीका कुरा सुनेर अहिले पवित्राजीप्रति निरन्तर प्रहार भईरहेको छ ।’
प्रहरी भन्छ- ‘साइबर अपराधअन्तर्गत जाहेरी परे कारवाही गर्छौं’
यसो त पवित्राको फोटो राखेर धेरैले उनलाई मनपरी भनिरहेका छन् । अपुष्ट कुरा राखेर उनको बेइज्जत गरिरहेका छन् । उनको परिवार नै बिग्रनेगरी उनलाई मनपरी भन्नेविरुद्ध उजुरी परे त्यस्ता कुरा सामाजिक संजालमा पोष्ट गर्नेविरुद्ध कारवाही हुने प्रहरीहरु बताउँछन् । ‘मैले पनि यो सब हेरें । पवित्राजी त हिरासतमा हुनुहुन्छ, जो कोहिले पवित्राको पक्षमा जाहेरी दिए उनीहरुविरुद्ध कारवाही हुन्छ । यो गलत काम हो । एक त अभियुक्तको फोटोसमेत नदेखाउने कानुनी व्यवस्था छ । यहाँ त मनपरी भएको छ । पवित्राजीको मानवअधिकारसमेत हनन भएको छ ।’ साइबर ब्युरोमा कार्यरत एक अधिकारी भन्छन्- ‘हाम्रो समाज कुन हदसम्म गिरेको छ भन्ने तथ्यको प्रमाण हो यो । सम्बन्धित पक्षको परिवार आएर उजुरी गरे कानुनी प्रक्रिया अगाडी बढाउँछौँ ।’
कहाँबाट सुरु भयो हल्ला ?
यसो त पवित्राका विषयमा यस्ता अपुष्ट हल्ला कसले चलायो भन्ने यकिन उनीहरुका आफन्त र साथीभाईलाई पनि छैन । तर निरज प्रधानका साथीहरुले फेक आईडीबाट हल्ला चलाएको र त्यसपछि थुप्रैले बुझ्दै नबुझी यस विषयमा सामाजिक संजालमा पोष्ट गरेको अनुमान उनका साथीहरुको छ । ‘म पवित्रालाई एकदम राम्रो चिन्छु । उनका श्रीमानलाई पनि चिन्छु । उहाँ पनि बैंकर हो । उहाँहरुको परिवारलाई नै तहसनहस पार्नेगरी फोटो नै राखेर बदनाम गर्ने काम भईरहेको छ । यसले उनी हिरासतबाट छुटेर आईसकेपछि पनि जीवनभर सजाय भोग्नुपर्नेगरी पीडा दिईएको छ ।’ अर्थ सरोकारको सम्पर्कमा आएका एभरेष्टकै अर्का एक कर्मचारी भन्छन्- ‘बैंकमा गलत काम भएकै हो, निरजले गल्ती गरेकै हो । तर गर्दै नगरेको गल्तीको सजाय पवित्राजीले भोगिरहनुभएको छ । जुन सरासर गलत भयो ।’
अहिले उनले ब्वाईफ्रेन्डलाई बाइक किन्न बैंक ठगी गरेको भन्ने हल्ला सामाजिक संजालमा भाइरल छ । पवित्रा हिरासतमा भएको हुँदा उनले यसलाई खण्डन गर्न सकेकी छैनन् । उनको परिवारले सार्वजनिक रुपमा यस विषयमा बोलेको छैन ।
बैंकका मिडिया कोअर्डिनेटर पुष्प राज उप्रेती पनि आफ्नी तत्कालीन कर्मचारीको विषयमा आएका गलत हल्लाका विषयमा आफुहरु चिन्तित रहेको बताउँछन् । ‘हाम्रा कर्मचारीका विषयमा बाहिर सामाजिक संजालमा आएका कतिपय कुराहरुले हामीलाई चिन्तित बनाएको छ । कतिपयले अपुष्ट हल्लाको हवाला दिंदै कसैको मानहानी गरिरहेका छन् ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: