Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी, चोर मेनेजरसहित ९ जना पक्राउ !

अर्थ सरोकार

काठमाडौं । ग्राहकको रकम चोरी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । बैंकको सुनसरीको इटहरीस्थित शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बैंकका ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ठगीका नाईके बैंकको इटहरी शाखाका ब्रान्च मेनेजर सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले जानकारी दिए ।

डिएसपी राईका अनुसार उनीहरुले बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जनाको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएको छ । ‘बैंकका कर्मचारीले ग्राहकको रकम चोरी गरे भन्ने उजुरी हामीकहाँ आएको थियो । सो विषयमा थप अनुसन्धान गर्दा हामीले बैंकका ब्रान्च मेनेजरसहित ९ जनालाई पक्राउ गरेका हौँ ।’, डिएसपी राईले भने, ‘उनीहरुले विभिन्न व्यक्तिको खाताबाट डेढ करोड बढी रकम चोरी गरेको पाइएको छ । थप अनुसन्धान गर्दैछौँ ।’

त्यस्तै, पक्राउ पर्नेहरुमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल रहेका छन् । त्यस्तै, सोही ठगीमा संलग्न रहेको भन्दै प्रहरीले धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरेको छ ।

डिएसपी राईका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका थिए । बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको डीएसपी राईले बताएका छन् ।

हाल पक्राउ परेका कर्मचारीसहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK