काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । जेठ २ गते बसेको लघुवित्तको संचालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि संस्थाको सीईओमा उपाध्यायलाई नियुक्त गरेको हो ।
सिराहाको सिराहा नगरपालिका वडा नं.१ स्थायी घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुँदै प्रमुख
कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् ।
उपाध्यायले व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । धनकुटाको धनकुटा नगरपालिका वडा नं. ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय रहेको गुराँस लघुवित्तको बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक, विराटनगर, मोरङ्गमा कर्पोरेट कार्यालय रहेको वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।