काठमाडौं । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको बक्यौता दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा कार्यालयले सेवाग्राहीबाट सो रकम असुल गर्न बाँकी रहको छ ।
कार्यालयका इञ्जीनीयर तिलकराम थनेतकाअनुसार तीन महिनाभन्दा बढी समयसम्म विद्युत महसुल नतिरेका पाँच सय २६ ग्राहकबाट बक्यौता रकम उठाउन बाँकी छ । ‘तीन महिना नाघेका ग्राहकबाट १० हजारदेखि १६ लाखसम्म असुल गर्न बाँकी छ’ उनले भने, ‘पटक-पटक ताकेता गर्दा पनि रकम उठ्न सकेको छैन ।’
कार्यालयमा १२ वर्षभन्दा लामो समयदेखिको विद्युत महसुलको बक्यौता रकम असुल गर्न बाँकी रहेको थनेतले जानकारी दिए । कावासोती वितरण केन्द्रमा ‘युडेको प्रालि’ले १६ लाख १८ हजार बुझाउन बाँकी छ । लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काटिएको थनेतले बताए ।
एक लाखभन्दा बढी विद्युत महसुल भुक्तानी गर्न बाँकी ग्राहक ४० रहेका छन् । विद्युत प्राधिकरणले उनीहरुबाट एक करोड ४४ लाख बक्यौता असूल गर्न बाँकी छ । लामो समयसम्म विद्युत महसुल भुक्तानी नगर्ने ग्राहकको बत्ती काटिएको उल्लेख गर्दै थनेतले बक्यौता रकम तिरेपछि मात्र लाइन पुनः जडान गरिने जानकारी दिए ।
कार्यालयले महसुल नतिर्ने दुई सय छ ग्राहकको विद्युत लाइन काटेको जनाएको छ ।