×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली शरणार्थी प्रकरणः मुद्धा मिलाउन पाण्डे र खाँणबीच हिरासतबाटै खासखुस, ‘कार्यकक्षमै १ करोड २४ लाख लिए’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले १ करोड २४ लाख नगदै लिएको खुलासा भएको छ । पाण्डेको अभियोगपत्र अनुसार उनले उक्त प्रकरणमा आफ्नै कार्यकक्षमा १ करोड २४ लाख नगद र बैंकिङ प्रणालीबाट ८४ लाख रुपैयाँ लिएको पाइएको हो ।

यतिसम्म की नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित ठगीमा पक्राउ परेपछि पनि उनले हिरासतबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेको पुष्ठी भएको छ ।

पाण्डेले मुद्धा कमजोर बनाउन हिरासतमै खाँणसँग कागजी कुराकानी गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरुबीच आफू र उच्च पदस्थ व्यक्तिलाई छुटकारा दिने विषयमा कुराकानी भएको थियो ।

यस्तो छ टेकनारायणमाथिको अभियोगः

केशव प्रसाद दुलाल र प्रतिवादी टेक नारायण पाण्डे वीच निजहरुको व्यक्तिगत मोवाईलमा What’s App तथा Viber समेतबाट जाहेरवालाहरु समेतका नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थीहरु बनाई अमेरिका पठाउने र सो बापत प्राप्त भएको रकम बाँडफाँड समेत गर्ने तथा सो सम्बन्धमा सरकारी तवरबाट भएका निर्णय एवं कुराकानीहरुको जानकारी लिने/दिने बारेमा लगातार एवं लामो लामो संवादहरु भएको देखिएको; उक्त संवादहरुमा भुटानी शरणार्थी छुट दर्ता गरी क्याम्प बाहिरका नेपालीहरुलाई अमेरिका पठाईदिने व्यवस्था गर्ने मन्त्रीज्यूलाई भेट्ने, financial arrange गर्ने, गिफ्ट दिने र यस सम्बन्धमा विभिन्न मानिसहरुले गरेका नकारात्मक टिप्पणीहरुको जानकारी लिने दिने समेतका सूचनाहरु आदान प्रदान भएको देखिन्छ ।

बालकृष्ण पन्थीको प्रतिवेदन पुनः मन्त्रीपरिषदमा प्रस्ताव नै नगरी मिति २०७८ । ०६ । १४ गते सचिवस्तरिय निर्णयबाट जिल्ला प्रशासन कार्यालय झापाका स.प्र.जि.अ.को संयोजकत्वमा समिती बनाई छुट भएका शरणार्थीहरुको विवरणलाई पुन:Verify गरी पेश गर्ने समेतको कार्यादेश दिएको । सो समितीले कुनै काम नै नगरेको अवस्थामा मिति २०७९/०२।२७ गते माननीय मन्त्रीस्तरको निर्णयबाट पुनः २ महिना म्याद थप हुँदा जाहेरवालाहरु समेतका नेपाली नागरिकहरुलाई भुटानीको रुपमा घुसाउनका लागी छुट शरणार्थीहरुको नाम समावेश गर्ने समेतको कार्यादेश थप गरेकोमा सो समितीले काम नगरेको अवस्थामा काम छिटो सम्पन्न गर्नका लागी बारम्बार झापा जिल्लाका सहायक प्र.जि.अ. लाई दवाव दिएको, सोही काम गराउनका लागी मन्त्रालयका आफु मातहतका कर्मचारीहरुलाई सहायक प्र.जि.अ. बाट चाँडो काम गराउनको लागी दवाव दिएको र बालकृष्ण पन्थीले दिएको प्रतिवेदन मन्त्री परिषदबाट फिर्ता भई आए पछि अध्ययनको लागी भनी सम्बन्धित शाखाबाट माग गरी लामो समयसम्म आफैले राखि सो प्रतिवेदनमा भएको व्यहोरालाई जाहेरवाला समेतका नेपाली नागरिकहरुलाई भुटानी शरणार्थीहरु हुन भनी व्यहोरा थपघट गरी नक्कली प्रतिवेदन गृह मन्त्रालयमै तयार गरेर राख्ने कार्य गरेको, गृह मन्त्रालयको परम्परा विपरित आफैले UNHCR का प्रतिनिधिहरुलाई बोलाई दर्ता हुन छुट भुटानी शरणार्थीहरुको सन्दर्भमा बैठक गराउने गरेको भन्ने गृह मन्त्रालयका कर्मचारीहरुले कागज गरी खुलाई दिएको । (९८०११४२९९-९८६००५२१०० ( 18 Apr 2022 ) केशवले सर पन्थी सरले कस्तो राय दिनु भयो हजुर भनी भनेको, टेकनारायणले – डिटेल कुरा भो, अब UNHCR सँग मिटिङ्ग छ, अनि थप काम हुन्छ भनी भनेको । केशवले छुट भएको हकमा कसरी गर्ने हजुर भनी भनेको । टेकनारायणले मिलाउछन् भनी भनेको | केशवले क्याम्पमा नभएकाको हकमा भनी भनेको । टेकनारायणले ठिक छ मिलाउने हो भनी भनेको ।

केशवले sir out of camp refugee candidate लाई application कहाँ दिन लगाउने हजुर भनी भनेको । टेकनारायणले छलफल हुँदै छ भनी भनेको | (31 May 2022 ) केशवले प्रमोद शर्मा मन्त्रीसँग नजिक छन हजुर, टेकनाथ रिजाललाई हाम्रो डिसिजन बिना हुन्न भन्दै थिए रे भनी भनेको । टेकनारायणले प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन भनी भनेको । केशवले भोली रेडी हुन्छ जस्तो छ हजुर भनी भनेको । टेकनारायणले मन्त्री ज्यूलाई म भेट गराउछु भनी भनेको । केशवले भोली Financial arrange भएपछि हजुर मार्फत् भेट्ने हो हजुर भनी भनेको । टेकनारायणले हस भनी भनेको । ( 02- jun 2022) केशवले सर नमस्ते मन्त्री ज्यूसँग कति बजे टाईम भयो हजुर भनी भनेको । टेकनारायणले मन्त्रीज्यूको गिफ्ट ल्याएनौ भनी भनेको । केशवले ओके, गेटमा हजुर तल भन्दिनु भनी भनेको । टेकनारायणले, मन्त्रालय गेट हो नी भनी भनेको । केशवले हजुर भनेको । टेकनारायणले ल भन्या छु, गिफ्ट माथि लिएर आउनु, गिफ्ट कहाँ छ सँगै लिएर आउनु भनेको देखिन्छ ।

प्रतिवादी केशव प्रसाद दुलालले यी प्रतिवादी टेक नारायण पाण्डेलाई नगदै रु.१,२४,५०,०००।– (एक करोड चौबिस लाख पचास हजार) निजको कार्यकक्षमा दिएको भनी बयानमा खुलाएको, यीनै प्रतिवादीले आफ्ना व्यक्तिगत सुरक्षा गार्ड प्र.ब.ना.नि धर्मराज शाहीलाई बारम्बार नगद रकम दिई मिति २०७८।०८।०२ देखि २०७९।०२।२३ गतेसम्म करिव ८ महिनाको अवधीमा आफ्नो सञ्चय कोष र नागरिक लगानी कोषमा एभरेष्ट बैंक ( खाता नं. ००१००१०५००००१८ को कोष प.प.नं. ०२४६१३३), हिमालयन बैंक (खाता नं. ०२७०४६७२४७००१८) समेतमा पटक-पटक गरी जम्मा रु.८४,९४,०९८.१३/- (अक्षरुपी चौरासी लाख चौरानब्बे हजार अन्ठानब्बे रुपैया तेह पैसा) जम्मा गरेको देखिएको, निज पक्राउ पर्नु भन्दा पूर्व आफ्नो निजी मोबाईलमा भएका विवरणहरु मेटाउने उद्देश्यले Formate गरेको, निज पक्राउ परी सके पश्चात प्रहरी हिरासतबाटै निजले प्रधानमन्त्री समेतलाई भनेर अन्य प्रतिवादीहरुको ईन्कारी बयान गर्न लगाउनु भन्ने समेत व्यहोराका लिखित सूचनाहरु बालकृष्ण खाँण समेतलाई पठाएको बुझिएका गृह मन्त्रालयका कर्मचारीहरु फणिन्द्रमणी पोखरेल, सागरमणी पाठक, चोमेन्द्र न्यौपाने, यन्तोष प्रधान समेतले पहिले UNHCR समेतको Joint Verification Team ले Verify गरेका ४२९ जना शरणार्थीहरु नै विवादित रहेको अवस्थामा थप छुट दर्ता गराउन नहुने, भुटानी शरणार्थीहरुलाई मानवीय सहायता सम्बन्धी बिषयमा निर्णय गर्दा अन्य देशका शरणार्थीहरुको हकमा समेत निर्णय गर्न दवाव पर्न सक्ने र सो गर्न अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले समेत कठिन हुने भएकोले थप छुट शरणार्थीहरु दर्ता गर्ने समेतको कार्य नगर्न निजलाई सुझाव दिएकोमा सो वेवास्ता गरी छुट शरणार्थीहरु सम्बन्धी निर्णय गरे गराएको र प्रतिवेदन बुझाउन समितीलाई प्रत्यक्ष रुपमा दवाव दिएको भनी खुलाएको, UNHCR ले नेपालमा रहेका भुटानी शरणार्थीहरुको दर्ता प्रकृया र तेश्रो मुलुकमा पुनर्स्थापनाको कार्य पूर्ण रुपमा बन्द भईसकेको भन्ने सार्वजनिक सूचना जारी गरिसकेको अवस्थामा समेत नेपालमा रहेका भुटानी शरणार्थीहरुको नाममा नेपाली नागरिकहरुलाई समेत भुटानी शरणार्थीको रुपमा दर्ता गराउनका लागि गृहमन्त्रालयका कर्मचारीहरु र समितीका सदस्यहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष दवाव दिएको प्रतिवेदन बारम्बार शाखाबाट माग गरी लामो समयसम्म राख्ने समेत गरेको कारण निजकै संलग्नतामा फेरवदल भएको हुन सक्छ भनी कागज गर्ने मानिसहरुले खुलाई दिएको र यी प्रतिवादीले हिरासतबाटै नरेन्द्र के.सी. को साथबाट बरामद कागजमा दुलालको बयान सच्याउनु पर्यो नभए मन्त्री ज्यू समेतको मुद्दा जान सक्छ ।

एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ बालकृष्ण खाँणको घरबाट बरामद च्यातिएको कागजमा नरेन्द्र जी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनी टेक नारायण पाण्डेले लेखि पठाएको कागज परीक्षण गर्दा निजकै रहेको परीक्षण प्रतिवेदनबाट पुष्टि हुन आएको देखिन्छ । टेक नारायण पाण्डे हिरासतमा रहदा बालकृष्ण खाँणसँग पत्रको माध्यमबाट मुद्दालाई प्रभावित बनाउने सूचना आदानप्रदान भएको प्रतिवादी बालकृष्ण खाँणलाई सानु भण्डारी र केशव प्रसाद दुलालको ईन्कारी बयान गराउनका लागी लिखित सूचना पठाए पछि बालकृष्ण खाँणले प्रतिवादी नरेन्द्र के.सी.लाई प्रतिवादी आङटावा शेर्पा मार्फत रु.१,००,००,०००/- (एक करोड) दिएकोमा मध्ये प्रतिवादी सानु भण्डारीको तर्फबाट निजको दाजु राजु भण्डारीलाई आङटावा शेर्पाले भरपाई गरी रु.३०,००,०००|-(तीस लाख) दिएको देखिदा प्रस्तुत मुद्दा कमजोर पार्ने र आफू र बालकृष्ण खाँण समेतका अन्य प्रतिवादीहरुलाई कसुर अपराधबाट बचाउने कार्य गरेको समेतका आधार प्रमाणहरुबाट यी प्रतिवादी टेक नारायण पाण्डे प्रतिवादी बालकृष्ण खाँणसँग प्रत्यक्ष रुपमा मिलेर प्रतिवादी केशव प्रसाद दुलाल, नरेन्द्र के.सी., आङटावा शेर्पा, सानु भण्डारी समेतलाई प्रत्यक्ष रुपमा परिचालन गरी प्रस्तुत संगठित ठगी, लिखत किर्ते एवं राष्ट्रहित प्रतिकुल काम गरी आपराधिक समूहका अन्य प्रतिवादीहरुलाई परिचालन गरी जाहेरवालाहरु समेतबाट संकलन गरिएको ठगीको रकम बाँडफाँड गर्ने, लिनेखाने काममा संलग्न रहेको देखिदा यी प्रतिवादी टेक नारायण पाण्डेले गैर भुटानी शरणार्थी अर्थात आम नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कलीको प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुऱ्याई ठगी गरी लाभ लिई प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।

यी प्रतिवादी टेक नारायण पाण्डेले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दिर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा करौडौ रकम लिनका लागि प्रतिवादीहरुले आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालिन सचिव रहेका प्रतिवादी टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं. १३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं.को दोश्रो Para, पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा लिखत किर्ते गरी संगठित अपराध र गरी अकुत सम्पत्ति आर्जन गरेको र भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखत किर्तेको कसूर समेत गरेको देखिदा निज प्रतिवादी टेक नारायण पाण्डेले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आयो ।

त्यसै गरी प्रतिवादी टेक नारायण पाण्डेले गृहसचिव जस्तो सार्वजनिक पदमा बसी आफूलाई लाभ पुऱ्याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले निज प्रतिवादी टेक नारायण पाण्डेले राष्ट्रहित प्रतिकूल काम गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आयो ।

प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहाकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरुलाई अपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको Layer मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने अपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाञी, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ-आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा निज प्रतिवादी टेक नारायण पाण्डेले संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसूर गरेको पुष्टि हुन आयो । प्रतिवादी टेक नारायण पाण्डे समेतले समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एकभन्दा बढी कसूर गरी एकिकृत कसूर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: