×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाप धुरीबाट करायो, जनता सोधीरहेछन् – ‘टोपबहादुरको ज्यान कता हरायो ?’ (भिडियो ब्रिफिङ)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पाप धुरीबाट करायो, जनता सोधीरहेछन् – ‘टोपबहादुरको ज्यान कता हरायो ?’ (भिडियो ब्रिफिङ)

काठमाडौं । गृह मन्त्रालयका लागि किन नेताहरु मरिहत्ते गर्छन्, एउटा पार्टीमा बर्षौंसम्म रगत पशिना बगाएर पनि सुटुक्क किन अर्को पार्टीमा प्रवेश गर्छन्, किन नेताहरु सत्ताकै पछि लाग्छन्, यो कुरा बुझ्न पछिल्लो नक्कली भुटानी सरणार्थी प्रकरण हेरे हुने भो । आफ्नै हात, जग्गनाथ भएपछि जे गरे पनि हुन्छ भन्ने ठान्नेहरुले यो प्रकरणमा थुप्रै नेपाली नागरिकसँग बोराका बोरा पैसा असुलेछन् । तर पाप धुरीबाट कराउँछ भनेजस्तै यसपाली भीआईपीहरुको पाप कराएको छ । बाउ मन्त्री भएपछि जति हसुरे पनि हुन्छ भन्ने सोच्ने पुत्रदेखि, बीचमा दले बनेर खान पल्किएका मन्त्रीका आसेपासेसम्म अव जेलमा जाकिने भएका छन् । के तत्कालीन गृहसचिव, के मन्त्री, के मन्त्रीका छोरा, के सल्लाहाकारको बिल्ला भिरेर घुस खाई, पावर डकार्ने हरामहरु, अव एक एकको हातमा हतकडी लाग्ने पालो आएको छ । हो, प्रचण्ड सरकारले भ्रष्टाचारको फाइल खोलेपछि, नारायाणकाजीलाई काजी स्टाइलकै आँट आएपछि मन्त्रीपुत्रको हातमा हतकडी लागेको छ, मन्त्री लगायतका भीआईपीहरु झरीपछिको हिरासतको चिसोमा लामखुट्टे र उडुससँग दोहोरी खेल्न बाध्य छन् । आखिर लुटेको धनले एक दिन पिरोल्छ नै भनेको हो रहेछ सायद, यसपाली ठुलै नेताहरु पिरोलिएका छन् ।
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई फोन गरेर यस बारे प्रश्न गरे । प्रश्न पनि के भन्नु, के गर्ने भनेर सोधे होलान् सायद । किनकि ओली स्वयमले भनेका छन्, म प्रधानमन्त्री हुँदा नै गाईगुई सुनिसकेको थिएँ यस प्रकरणबारे । हुन त टोपबहादुर बुधबार नै पक्राउ परिसक्नुपर्ने थियो । तर उनले आफुलाई पक्राउ गर्न एयरपोर्टमा प्रहरीहरु तैनाथ छन् भन्ने थाहा पाएपछि टिकट नै रद्ध गरे, एमालेका ठुला नेताहरुलाई फोन गरे, लौ न मलाई बचाईदिनुपर्यो, के आईलाग्यो भनेर अनुनयविनय पनि गरे, घरमा फोन गरे, घरमा केहि हुन्न म सब मिलाईहाल्छु पनि भने, र लुकीछिपी बसे । पुलिसले आफ्नो लोकेसन ट्रयाक गर्छ भनेर उनले फोन स्वीच अफ गरेर अरुलाई अर्को नम्बरबाट फोन गरे ।
यहि बीचमा प्रहरी उनको सम्पर्कमा पुग्यो । तर एमाले नेताहरुको दबाब छ र टोपबहादुर ठुलै नेता हुन् भन्ने थाहा भएको प्रहरीले उनलाई नियन्त्रणमा लिए पनि हामीले पक्राउ गर्यौं भन्न सकेन । अझ प्रहरीको पछिल्लो अभिव्यक्तिले अनुसन्धानमा कुन हदसम्म राजनीतिक प्रभावले काम गरेको छ भन्ने बुझ्न गाह्रो छैन । टोपबहादुर कहाँ छन् भन्ने पनि प्रहरीलाई थाहा छ, नियन्त्रणमा लिईसकेको पनि प्रहरीलाई थाहा छ, तर पनि यस विषयमा खुलेर प्रहरी नै बोल्न नसक्नुले अनुसन्धान सटिक होला भन्ने शंका गर्ने ठाउँ पनि प्रशस्तै छ ।
कुरा यतिमा मात्र रोकिएन । यहि बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई भेट गरी टोपबहादुरका बारेमा कुराकानी गरे । दुई जनाबीच के कुरा भयो भन्ने कुरा बाहिर नआए पनि बुझ्न गाह्रो छैन, एमाले अध्यक्ष ओलीले टोपबहादुरलाई जोगाउन खोजेको कुरा बुझ्न गाह्रो छैन । अझ भेटपछि उनले मन्त्री भईसकेको मान्छेलाई पक्राउ गरिहाल्नुपर्ने कुरा रहस्यमय भएको देखाउनुले उनी टोपबहादुरलाई जोगाउन चाहान्छन् भन्ने बुझ्न गाह्रो छैन । कुरा यतिमा मात्र सिमित छैन, किनकि टोपबहादुर पक्राउ परेपछि एमालेले एउटा सांसदलाई फेरी गुमाउनुपर्ने हुन्छ । उपनिर्वाचनमा फेरी घन्टीले बाजी मारिहाल्छ भन्ने अर्को पीर पनि छ । र यहि राजनीतिक लुकामारीका बीच यतिबेला देश तातेको छ, भीआईपीहरु भकाभक अदालत र हिरासत ओहोरदोहोर गरिरहेका छन् र राजनीतिमा यहि विषय मात्र टक अफ दी टाउन बनिरहेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहमा टोपबहादुर र उनका छोरा पनि थिए । यहि प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयमाका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परिसकेका छन् । यता यो प्रकरणका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरुको बयानका आधारमा थप हाईप्रोफाइलहरु पक्राउ परेका हुन् । यो प्रकरणमा काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खांडदेखि अख्तिया प्रमुख प्रेम राईसमेत तानिने सम्भावना छ। पक्राउ परेकाहरु माथि भकाभक अनुसन्धान जारी छ, छिट्टै अदालतले यस विषयमा दुधको दुध पानीको पानी छुट्याउनेछ ।
यसो त अव यो केस यति छिट्टै सकिन्न । प्रहरीले अनुसन्धान सकेर अदालतमा बुझाउँछ । अदालतमा बहस चल्छ । यो मुद्धा काठमाडौँ जिल्ला अदालतमा चल्ने हुनाले जिल्ला अदालतले दोषी ठहर गरेन भने कुरा सकिहाल्यो, दोषी ठहर नै गरेको केसमा पनि केस पुन: उच्च अदालतसम्म पुग्न सक्छ । उच्चले सफाई दियो भने सकिहाल्यो, उच्चले पनि उनलाई सफाई दिएन भने उनीहरुको बास जेलमा हुन्छ । भलै यो प्रक्रिया लामो छ । अर्थात अवको केहि महिना भीआईपीहरुको बास जेलमा हुन सक्ने सम्भावना ठुलो छ । यो त कानुनी कुरा भयो, कसैले बदमासी गर्यो, जेल पर्यो, त्यो भन्दा पनि ठुलो कुरा, सरकारी संयन्त्रलाई कतिसम्म दुरुपयोग गर्नेरहेछन् नेताहरुले भन्ने तथ्यको ज्वलन्त प्रमाण हो नक्कली शरणार्थी प्रकरण । यसले देशको राजानीतिलाई मात्र गिज्याएको छैन, बरु हामीले हाम्रा लागि सरकारमा पुग्छन् भनेर भोट हालेर पठाएकाहरु कुनहदसम्म भ्रष्ट रहेछन् भन्ने तथ्य प्रमाणित भएको छ ।
र सँगै सरकारले केहि गरेन, केहि गर्दैन, केहि गर्न सक्दैन भन्नेहरुलाई भने यसपाली प्रचण्ड सरकारले केहि गरेर देखाउन खोजेको छ । दबाब ठुलो छ, त्यसैले दबाबका बीच यो केस ढिसमिस हुन पनि सक्छ । यसका लागि हामी आम जनताको खबरदारी आवश्यक हुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, केहि दिनअघि संचारकर्मीहरुसँग कुराकानी गर्दै, तपाईंले म रक्सी खान्न, चुरो खान्न, कोल्ड ड्रिङ्क्स खान्न भन्नुभएको थियो । आशा छ यो प्रकरणमा केस मिलाउन तपाईंले घुस पनि खानुहुनेछैन । राजनीतिक सौदाबाजी गर्दै केस मिलाउनेगरी हरेश खानुहुनेछैन । किनकि तपाईंले बुझेको हुनुपर्छ, यो केस मात्र एउटा मामुली केस होइन, भ्रष्टाचारको फाइल खोल्ने एउटा टर्निंग पोइन्ट पनि हो । प्रचण्डले पनि यसैगरी बुझे झन्डै झन्डै सक्किएको माओवादी केहिहदसम्म पनि सक्किनबाट जोगिन्छ कि ! आगे सुप्रिमोकै मर्जी ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: