×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल युएई चेम्बरको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

युएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल युएई चेम्बरको माग

Artha Sarokar

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल युएई चेम्बर अफ कमर्स एण्ड ईन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेश गरेको छ ।

संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिनाअघि यूएईको स्थलगत भ्रमणमा समेत गएको प्रतिनिधिमण्डलले आइतबार परराष्ट्रमन्त्री साउदलाई स्थलगत अध्ययनसहितको प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा दुई मुलुकबीचको आर्थिक सम्बन्ध नयाँ उचाईमा पुर्याउन गर्नुपर्ने विवरणहरु समावेश रहेका छन् ।

प्रतिनिधिमण्डलले यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता (फिपा) गर्न माग गरेको छ । फिपा लागू गर्दा युएईका व्यवसायीहरूले नेपालमा लगानी गर्न सुरक्षित महशुस गर्ने संघका अध्यक्ष अग्रवालले मन्त्री साउदलाई जानकारी गराए । ‘यसले भेदभाव र अनुचित व्यवहार विरुद्ध कानुनी सुरक्षा प्रदान गर्नेछ, युएईका धेरै व्यवसायहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछ,’ अग्रवालले भने, ‘यसबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), आर्थिक वृद्धि, रोजगारी सृजना र ज्ञान हस्तान्तरणमा वृद्धि हुनेछ ।’

चेम्बरले फिपामा हस्ताक्षर गरेर नेपालले अन्तर्राष्ट्रिय जगतसामु विश्वास बढाउन अनुकूल व्यापार वातावरण सिर्जना गर्ने जनाएको छ । यसले विदेशी लगानीको संरक्षण र व्यवसाय प्रबर्द्धन गर्न नेपालको प्रतिबद्धतालाई संकेत गर्ने उल्लेख गर्दै युएईका व्यवसायीहरूले नयाँ प्रविधि, व्यवस्थापकीय सीप र बजार अन्तदृष्टि ल्याउने छन्, जसले नेपालको विभिन्न क्षेत्रहरूलाई फाइदा पुर्याउने उल्लेख छ ।

संघका अनुसार संयुक्त अरब इमिरेट्समा हाल ४ लाख नेपाली कामदारले रोजगारी गरिरहेका छन् । युएई रेमिट्यान्सको प्रमुख स्रोत मात्र नभै नेपालको तेस्रो ठूलो व्यापार साझेदार पनि हो ।

संघले यूएईसँग दोहोरो करमुक्ति सम्झौता गर्न पनि माग गरेको छ । नेपाल र युएई बीचको दोहोरो कर सम्बन्धी सम्झौता कार्यान्वयनले विशेष गरी युएईमा बस्ने र कर तिर्ने नेपाली व्यक्तिहरूलाई धेरै फाइदा पुग्ने संघको भनाइ छ । दुवै देशहरूले समान आम्दानीमा व्यक्तिहरूलाई कर नलगाउने यो व्यवस्थाले युएईमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने संघको भनाइ छ ।

साथै, संघले द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न नेपाल र युएईबीच मैत्री समिति गठन गर्न पनि सिफारिस गरेको छ । यस उच्चस्तरीय समितिले सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र जनताबीचको घनिष्ठ सम्बन्धको विकासमा सहजीकरण गर्ने जनाएको छ ।

यस्तै, संघले नागरिक उड्डयन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने जनाएको छ । दुई मुलुकबीच हुने नागरिक उड्डयन सम्झौता कार्यान्वयनले दुवै देशलाई धेरै फाइदा पुग्ने जनाइएको छ । यस्तो सम्झौताले हवाई कनेक्टिभिटीलाई सहज र बृद्धि गर्दै यात्रा, व्यापार र पर्यटनका नयाँ अवसरहरू खोल्ने उल्लेख छ । ‘यसले उडान फ्रिक्वेन्सी, थप सीधा रुटहरू र नेपाल र युएईबीचको पहुँचमा सुधार ल्याउनेछ, जसले गर्दा यात्रुहरू र व्यवसायहरूका लागि थप सुविधा र दक्षता हुनेछ,’ संघले भनेको छ ।

संघका अनुसार नेपालले यूएईसँग यसबाहेक युएईमा ‘भिजिट नेपाल’ अभियान सुरु गर्नुपर्ने तथा यूएईबाट नेपालमा पर्यटक भित्र्याउन पहल गर्नुपर्ने जनाएको छ । हालको पर्यटक आगमन धेरै कम भएकोले, लक्षित प्रचारात्मक पहलहरू, जस्तै मार्केटिङ अभियानहरू र ट्राभल एक्सपोमा सहभागिताले प्रभावकारी रूपमा सचेतना जगाउने र सम्भावित पर्यटकहरूमा चासो उत्पन्न गर्ने जनाएको छ ।

नेपाल र युएईबीच श्रम सम्झौता गर्दै यूएईमा बसोबास गर्ने र काम गर्ने करिब ४ लाख नेपाली कामदारलाई पर्याप्त लाभ दिनुपर्ने संघको भनाइ छ । यस्तो सम्झौताले उनीहरूको अधिकार र कल्याणको संरक्षण सुनिश्चित गर्ने र कामदारको हितको रक्षा गर्दै कामको अवस्था, पारिश्रमिक र सुविधाका सम्बन्धमा स्पष्ट दिशानिर्देश र नियमहरू निर्माण गर्ने संघको भनाइ छ ।

संघले यससँगै दुई मुलुकबीच लगानी सम्झौता, कानुनी सम्झौता तथा साइबर सुरक्षासम्बन्धी सम्झौता गर्न पनि सुझाव दिएको छ ।

संघको सुझावपछि परराष्ट्रमन्त्री साउदले यूएईसँग यसअघि भएका सम्झौताहरुको समीक्षा र पुनरावलोकन गर्दै दुवै मुलुकलाई मान्य हुनेगरी विस्तृत सहमति र सम्झौता हुनुपर्ने धारणा राखे । मन्त्री साउदले नेपाल यूएई चेम्बरको अध्ययन प्रतिवेदन आफूहरुका लागि मार्गदर्शक हुनसक्ने उल्लेख गर्दै आर्थिक कुटनीतिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

छलफमा नेपाल यूएई चेम्बरका अध्यक्ष पवन अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी, मोहनवीर थापा, चन्द्र टण्डन, अनोज रिमाल, विनय उपाध्याय लगायतको सहभागिता रहेको थियो । परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव तेजबहादुर क्षेत्री पनि सहभागी थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी