×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भारत भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध नयाँ उचाईमा पुग्छ’- प्रधानमन्त्री प्रचण्ड

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार

PRIME CA
laxmi sunrise bank

‘भारत भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध नयाँ उचाईमा पुग्छ’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका छन् । नयाँदिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपसी विश्वासको तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे औपचारिक निमन्त्रणामा आफूले भारत भ्रमण गरेको जानकारी दिँदै उनले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गरेका छन् । नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरकोे सम्बन्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्रीले यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपाली आफैँमा सद्भावना दूत रहेको र नेपालको हितमा केन्द्रित रहेकामा प्रसन्नता व्यक्त गरे । उनले भारतमा सिकेको सीप तथा ज्ञानलाई मुलुकको समृद्धिका लागि खर्चनसमेत आग्रह गरेका छन् । नेपाली जहाँ रहे पनि नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन भारतमा रहेका नेपालीलाई आग्रह गरेका छन् । कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र क्रमशः सुधारका क्रममा अगाडि बढेको जानकारी दिँदै उनले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्र सुधारका लागि दत्तचित्त भएर लागेको स्पष्ट पारेका छन् । जनतालाई सेवासुविधा प्रदान गर्दै अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार अग्रसर भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसको परिणाम छिट्टै देखिने बताएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् । बुधबार साँझ नै प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका थिए । साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका थिए ।

प्रधानमन्त्री दाहाल बिहीबार बिहान महात्मा गान्धीकोे समाधिस्थल राजघाट जानुभई पुष्पगुच्छा अर्पण गर्नेछन् । त्यसलगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ । केही महत्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

त्यस्तै, बिहीबार प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: