Skip to content
LAXMI SUNRISE BANK

बचतकर्ता आत्तिएपछि देउराली सहकारीले भन्यो-‘६ महिना भित्र सबैको रकम फिर्ता गर्छौं’

अर्थ सरोकार

काठमाडौं । ललितुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बैंकबाट लिएको कर्जाको विषय र सहकारीको बचतकर्ताहरुको रकम फिर्ताको विषयलाई लिएर केही दिनदेखि कतिपय सञ्चार माध्यममा फैलाएको अफवाहप्रति आपत्ति जनाएका छन् ।

बजारमा छरिएका प्रचार र भ्रमकोपछि नलाग्न सबै बचतकर्ता तथा वित्तिय संस्थाहरुलाई उनले अनुरोध गरेका छन् । अध्यक्ष चौलागाइले विज्ञप्तीमा ६ महिना भित्र बचतकर्ताहरुको साँवा र ब्याज तिर्ने प्रतिबद्धता जाहेर गरेका छन् । बचतकर्ताहरुको बचत रकम फिर्ताको कार्ययोजना बनाइ उनले सहकारी विभागलाई पेश गरिसकेको बताएका छन् । बचतकर्ताहरुको बचतको रकम फिर्ताको विवरण हेर्दा सहकारीमा त्यति ठुलो समस्या नभई परिस्थीतिजन्य समस्या रहेको बुझिएको छ । सहकारीमा बचतकर्ताहरुको २०८० असार अन्तिम सातासम्म साँवा र ब्याज सहित फिर्ता गर्न बाँकी रकम ५४ करोड मात्रै रहेको देखिएको छ ।

अध्यक्ष चौलागाँइले जारी गरेको विज्ञप्तीमा देशका विभिन्न ठाउँहरु जस्तै झापाको साविक शिवगन्ज, सुनसरीको पूर्वकुशाहा, काठमाडौंको साविक टल्कडुडे भन्ने ठाउँमा जग्गाहरु रहेको देखिन्छ । ती जग्गाहरुको बजार मुल्य ७० करोड रुपैयाँ बराबरको भएपनि हालको विषम परिस्थीतिका कारण बेचविखन गर्न केही अप्ठेरो परेको विज्ञप्तीमा उल्लेख छ ।

देउरालीले आफनो विज्ञप्तीमा बचतकर्ताले माग गरे बमोजिम सबै रकम यही श्रावण देखि पुष मसान्तसम्ममा भुक्तानी तथा बचतफिर्ता गर्ने, पाकेको ब्याज साउन मसान्तसम्म भुक्तानी गर्ने उल्लेख गरेको छ । त्यसैगरी विज्ञप्तीमा प्रत्येक महिना बचत फिर्ताको विवरण सहकारी विभाग र प्रदेश रजिष्टारको कार्यालयमा पेश गर्ने, बचत फिर्ता गर्दा कार्ययोजना बमोजिम सबैभन्दा कम जम्मा गरेका सदस्यहरुलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरेको छ ।

केही ठुला बचतकर्ताहरुलाई उनीहरुले चाहेमा उचित मुल्यमा जग्गाहरु समेतबाट बचत फिर्ता गर्ने बताएका छन् । डोमा कर्मा गुरुङको नाममा दर्ता कायम रहेको जग्गा श्री देउराली बहुउद्धेश्यीय सहकारी संस्था लि. को दायित्व भुक्तान दिने सम्बन्धमा स्थानिय वडा कार्यालयबाट प्रमाणित गरेर एक हप्ता भित्र सहकारी विभागमा पेश गर्न सञ्चालक समितिका पदाधीकारीहरु समेत प्रतिबद्ध रहेको देखिन्छन् ।

अध्यक्ष चौलागाँइ भन्छन् ‘सेञ्चुरी बैंक हालको प्रभु बैंकमा भएको कर्जामा धितो स्वरुप आफनो नाममा रहेको, श्रीमती पुजा खत्री र दाइ राजेन्द्र खत्रीको नाममा रहेको किर्तिपुर काठमाडौँको ४ रोपनी जग्गा, ललितपुर काठमाडौँ र भक्तपुरमा गरी ८ ओटा घर, ललितपुर ढोलाहिटीमा २ रोपनी जग्गा, धापाखेलमा २ रोपनी जग्गा, भक्तपुर सुर्यविनायकको ११ रोपनी जग्गा, पाँचखाल नगरपालिकासँगैको ९ रोपनी जग्गा, झापा दमकको ३ विघा जग्गा, भैंसेपाटी आवासमा १ रोपनीमा बनेको घर, विराटनगरको ४ विघामा भएको अन्नपुर्ण डिष्टीलरी जस्ताा करिव ५ अर्ब बराबरको सम्पति धितोमा रहेको छ ।’

सिटिजन्स बैंकमा ललितपुर लेले स्थीत १२ रोपनी जग्गामा आधुनिक कुखुरा फर्म ८ ओटा छन् जसको मुल्य ५० करोड माथी छ । यस्तै गरेर हालको नेपाल इन्भेष्टमेन्ट बैंकमा सातदोबाटो मेनरोडमा २१ आना जग्गा, १६ हजार स्क्वायर फीटको गोदाम, किर्तिपुरको २ रोपनी जग्गा, धोबीघाटको मेनरोडको १० आना जग्गा, ललितपुर ठैबको एक रोपनी जग्गा, ललितपुर हरिसिद्धीको ८ आना जग्गा, इमाडोलमा एक रोपनीमा जग्गा र घर रहेको छ । जसको मुल्य एक अर्ब भन्दा माथी रहेको बताइएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकमा पुजा मार्केटिङ प्रालिको कुनै कर्जा नभएको र माछापुच्छ्रे बैंकमा लुभुको ८ रोपनी जग्गा राखी विभिन्न कृषि ब्यवसाय युनिलिभर नेपाल, डाबर नेपाल, गोर्खा ब्रुअरि जस्ता कम्पनीको एजेन्सीको लागि बैंकले कर्जा दिएको बताइएको छ । यस विषयलाई नबुझि अफवाह फैलाइ विभिन्न आरोप लगाएकोले यी कुराहरु बताउन संस्था बाध्य भएको उनले बताएका छन् ।

देउराली सहकारीका अध्यक्ष लगायत उनको टीम भागको छैन, ब्यवहार मिलाउँदै छन्, सो कुरामा ठुक्क भए हुन्छ- उनले भनेका छन् । उनले संस्थालाई अप्ठेरो परेका बेला आर्थिक कारोबारमा जोडिएर ठुलो मात्रामा नगद र सम्पती लिने, अनुचित लेनदेनको कारोबार गर्ने, राजनीतिक आडमा उल्टै धम्क्याउने ब्यक्तिहरु समेतलाई चाँडै सम्पर्कमा आइ संस्थाको तिर्न बाँकी रकम चुक्ता गर्न अनुरोध गरेका छन् । उनले त्यस्ता व्यक्तिहरुले संस्थामा तिर्न बाँकी नतिरे सहकारी ऐन नियम अनुसार कार्वाहीको प्रक्रियामा जाने बताएका छन् । उनी ३० भन्दा बढी ठुला कर्जा लगेकाहरुलाई अविलम्ब भुक्तानी गर्न आग्रह गरेका छन् । सहकारीले कर्जा प्रवाहमा ठुलो रकम गएको र सो रकम उठ्दा कुनै खालको समस्या नआउने समेत बताएका छन् ।

देउरालीका बचतकर्ताको बाँकी बचत फिर्ता नगरुन्जेलसम्म अध्यक्ष चौलागाँइ लगायत सञ्चालक समिति र परिवारको सम्पति लिलाम नगर्न सहकारी विभागले पौष मसान्तसम्मको समय दिएको पनि उनले बताए । सो समय भित्र कुनैपनि बैंक तथा वित्तिय संस्था, व्यक्तिले आफ्ना सम्पती लिलाम गरेमा भोगचलन गर्न नदिने, बैंकहरुविरुद्ध आन्दोलनमा उत्रने बताएका छन् ।

आफनो स्वार्थ र बैंकको लक्ष्य पुरा गर्ने उदेश्यले चौलागाइलाई ६.५० प्रतिशतमा गरेको लगानी अहिले १६ प्रतिशतसम्म ब्याज र पेनाल्टी थपि लीलाम गरेमा सयौं व्यवसायी र हजारौं बचतकर्ता सडक आन्दोलनमा उत्रने उनले बताएका छन् । चौलागाँइ र देउरालीबाट मिटब्याजीले लिएको अनुचित रकम फिर्ता गर्न उनले आग्रह गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK