×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभावः बैंकले पैसा काटिदिने डरले ऋण लिएको खातामा व्यवसायीले पैसा राख्न छोडे, अन्य प्रयोजनका लागि छुट्टै खाता !

PRIME CA

मन्दीको प्रभावः बैंकले पैसा काटिदिने डरले ऋण लिएको खातामा व्यवसायीले पैसा राख्न छोडे, अन्य प्रयोजनका लागि छुट्टै खाता !

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मन्दीका कारण तर्सिएका व्यवसायीहरुले ऋण लिएको खातामा पैसा राख्नै छोडेका छन् । व्यापार-व्यवसाय सुस्ताएका बेला बैंकले पैसा काटिदिने डरले केही ठूलै व्यसायीहरुले पनि ऋण लिएको बैंक खातामा पैसा राख्नै छोडेका हुन् ।

बैंकबाट ठूलो ऋण लिएका व्यवसायीहरुले पनि अहिले ऋण लिएको खातामा पैसा नराख्ने गरेको बैंकरहरु बताउँछन् । ‘पहिला अवस्था ठिकै थियो । खातामा नियमित रुपमा रकम जम्मा हुन्थ्यो । तर, आजभोली राम्रै व्यापार गरिरहेका व्यवसायीहरुले पनि ऋण लिएको खातामा पैसा जम्मा गर्दैनन् ।’, एक बैंकका सीईओले भने, ‘बैंकको किस्ता नतिरेपछि अधिकांशलाई ताकेता गर्नुपरेको छ । सायद त्यही डरले होला, धेरै व्यवसायीले खातामा पैसा नै राख्न छोडेका छन् ।’

यसो त व्यवसायीहरुले पनि बैंकको निरन्तरको ताकेताका कारण पैसा काटिदिने डरले ऋण लिएको खातामा पैसा जम्मा नगर्ने गरेको स्वीकारेका छन् । ‘अहिले व्यापार शून्यजस्तै छ । महिनाभरीको कमाईले स्टाफको ज्याला तिर्न पनि धौ-धौ पर्छ । त्यसैमाथि घरभाडा, सामान किनेको भुक्तानीले झनै पिरोलेको छ । यस्तो बेलामा बैंकको यति चर्को ब्याजमा किस्ता कसरी तिर्ने ?’, न्यूरोडका एक व्यवसायीले भने, ‘कमाई नै नभएको भन्ने होइन, तर अहिले भएको कमाइले आफैलाई पुग्दैन । ऋण लिएको बैंकमा कारोबार गर्यो बैंकले सबै पैसा काटिदिन्छ । त्यसैले अन्य प्रयोजनका लागि अर्कै बैंकमा खाता खोलेका छौँ ।’

यसो त विगतमा निरन्तर रुपमा ऋण लिएकै बैंक खाताबाट सम्पूर्ण कारोबार गरिने गरेको भए पनि अहिले बैंकको किस्ताबाट जोगिन व्यवसायीले ऋण र कारोबारको खाता फरक-फरक बैंकमा सञ्चालन गरेको बैंकहरुको भनाई रहेको छ ।

विगतमा साह्रै जटिल अवस्था आएको भए पनि अहिले अवस्था सहज भएका कारण व्यवसायीहरुले बैंकको ऋण तिर्नुपर्ने बैंकहरुको भनाई छ । यसो त बैंकहरु अहिले प्रवाह भएको ऋण उठाउन नसक्दा थप समस्यामा छन् । त्यसैमाथी व्यवसायीहरुले ऋण लिएको बैंक खातामा कारोबार नै गर्न छोडेपछि बैंक थप मर्कामा परेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: