×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको तालिमपछि फेरिएको मायाको जीवन, अचार बेचेरै कमाउँछिन् वार्षिक ५ लाख रुपैयाँ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारीको तालिमपछि फेरिएको मायाको जीवन, अचार बेचेरै कमाउँछिन् वार्षिक ५ लाख रुपैयाँ !

Artha Sarokar

२५ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–३ आदर्श टोल निवासी ४४ वर्षीया माया पाठक अफूले सिकेको तालिमलाई सदुपयोग गर्दै आत्मनिर्भर बनेकी छिन् । उनीले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरिएको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन् । सोही सहकारीबाट लिएको तालिमलाई दैनिकी बनाएकी पाठक अहिले अचार बेचेरै मनग्य आम्दानी गरिरहेकी छिन् ।

हाल उनी आत्मनिर्भर मात्र बन्नुभएको छैन प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छिन् । तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रुपमा अचार बनाउन सुरु गरिन् । उनले रु ६० हजारबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल पाँच लाख पुगेको छ ।

चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ । उनी बिहान सबेरै उठ्छिन् । अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन् । मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन् । दिउँसोपख छोरी बुुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाँद्छिन् । कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उनीहरुको दैनिकी हो ।

‘उद्योग सञ्चालनपश्चात् कोरोनाको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउपर्यो ।’, मायाले उनले भनिन्, ‘व्यवसाय छोडौँ कि निरन्तरता दिउँ भन्ने दोधार मनकाबीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ ।’

मायाले आफूले उत्पादन गरेको अचारबाट वार्षिक रु साढे दुुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । ‘भान्साको गहनाका रुपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ ।’, उनले भनिन्, ‘अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ ।’ उनले बजारीकरणको राम्रो व्यवस्था भए अझै दुईचार जनालाई रोजगार दिन सक्ने दाबी गरेकी छिन् ।

मायाको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ । उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन् । यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन् ।

‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ ।’, उनले भनिन्, ‘ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ ।’

पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा हुनुहन्छ भने एक छोरा सुरज वैदेशिक रोजगारमा गएका छन् । उनलाई बुुहारी आरती र छोरी पूजाले अचार बनाउने काममा दैनिक साथ दिँदै आएकी छिन् । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सीपमूलक तालिम सिकेर आत्मर्निभर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहानका योजना ल्याएको बताए । ‘नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ ।’, उनले भने, ‘परम्परागत पेसा, अस्तकला, महिलाको सीपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी