काठमाडौं । कोशी हेल्थ एण्ड साइन्स क्याम्पसमा क्याम्पस प्रमुखविरुद्ध आवाज उठाएको भन्दै तीन जना विद्यार्थीलाई फेल गराएको पाइएको छ । कक्षा कोठमा अपशब्द प्रयोग गर्ने क्याम्पस प्रमुखविरुद्ध आवाज उठाएको निहूँमा कलेजले रुपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगतलाई फेल गराएको हो ।
उनीहरु तीनै जना बिपीएच चौँथो वर्षमा अध्ययनरत छन् । पूर्वाञ्चल विश्वविद्यालयको बिपीएच सातौँ समेस्टरको प्रयोगात्मक परीक्षामा कलेज प्रशासनले नियोजित रुपमा फेल गराएको उनीहरुको आरोप रहेको छ । क्याम्पस प्रमुखविरुद्ध आवाज उठाउँदा कलेजले नियतवश फेल गराएपछि उनीहरुले पत्रकार सम्मेलन गरेरै उक्त कुराको जानकारी दिएका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो । जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने र भगत दुई विषयको प्रयोगात्मक परीक्षामा फेल भएका थिए । सैद्धान्तिक परीक्षामा भने उनीहरू पास भएका छन् । क्याम्पसले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले प्रयोगात्मक परीक्षा लिएको जनाएको छ । तर, बाह्य परीक्षकले भने कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्यांकन नगरेको बताएको विद्यार्थी न्यौपानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छिन् ।
यसो त कलेज प्रशासनले पनि केही हदसम्म उक्त विषयमा गल्ती भएको स्वीकारेको छ । तथापी क्याम्पस प्रमुख सूर्यनारायण चौधरीले भने विद्यार्थीलाई फेल गराउन कलेजको कुनै पनि भूमिका नभएको दाबी गर्दै आएका छन् । तर, विद्यार्थीहरुले भने कलेजमा प्रमुखको मनपरीविरुद्ध आवाज उठाउँमा प्रयोगात्मक परीक्षामा अंक कम दिएर फेल गराएको आरोप लगाएका छन् ।