काठमाडौं । एनसेलले आफ्ना ग्राहकसँग सम्बन्धित सम्पूर्ण विवरण सुरक्षित राखेको जनाएको छ । एक सूचना जारी गर्दै एनसेलले आफ्ना ग्राहकको सूचना, डाटा र गोपनीयतालाई सँधै उच्च प्राथामिकतामा राखेको स्पष्ट पारेको हो ।
‘एनसेलमा ग्राहकको विवरण असुरक्षित’ भन्ने आशयका साथ विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारहरुको खण्डन गर्दै एनसेलले आफ्ना ग्राहकको विवरण सुरक्षित राख्ने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गरेको हो ।
विभिन्न सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई उदृत गर्दै एनसेलले भन्यो– ‘यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याई छ । यो कम्पनीको प्रतिष्ठामा आँच पुर्याउने गम्भीर प्रयास भएको र केही सिमित समूहको निहीत स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो भन्ने हाम्रो विश्वास छ । यस्ता झुटा, आधारहीन र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ ।’
त्यस्तै, एनसेलले विभिन्न समाचारमा उल्लेख भएजस्तो आफ्ना ग्राहकहरुको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पुहँचका लागि कहिल्यै कसैलाई कानुन विपरित अनुमति नदिएको र कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नभएको स्पष्ट पारेको छ ।
यस्तो छ एनसेलले बुँदागत रुपमा स्पष्ट पारेका विषयः
१. हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं । समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।
२. एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट÷कनेक्ट अर्थात जोडेको छैन । कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं ।
३. हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
४. टेरामक्स अध्ययनको निष्कर्षका आधारमा हाम्रो निर्णय हुनेछ । जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।