काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट ब्रोकर दलालको लाइसेन्स पाएको हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ६३)का अध्यक्ष सागर ढकाल गैरकानुनी धन्दामा संग्लग्न रहेको पाइएको छ । अरुको बौद्धिक सम्पतिको दुरुपयोग गर्ने काममा उनको संलग्नता रहेको पाइएको हो । अरुको बौद्धिक सम्पति चोर्ने, त्यसलाई दुरुपयोग गर्ने र आफ्नो भनी प्रचारप्रसार गर्ने काममा उनको संलग्नता रहेको पाइएपछि अहिले उनले दुरुपयोग गरेको बौद्धिक सम्पत्तिका हिस्सेदार उनीविरुद्ध अदालत जाने भएका छन् ।
‘हिमालयन ब्रोकरेजका अध्यक्ष सागर ढकालले हाम्रो बौद्धिक सम्पत्ति चोरी गरी हामीलाई नोक्सान पुर्याउने काम गरेको पाइएपछि हामी उनीविरुद्ध क्षतिपूर्तिको दाबीसहित अदालत जाँदैछौँ ।’ ढकालले दुरुपयोग गरेको बौद्धिक सम्पत्तिका हिस्सेदार कम्पनीका अध्यक्षले अर्थ सरोकारसँग भने- ‘हामीले उनलाई यस विषयमा सचेत गराउन फोन गर्दा पनि सम्पर्कमा नआउने र हाम्रो बौद्धिक सम्पति निरन्तर चोरी गरी हामीलाई नोक्सान पुर्याउने काम भएपछि हामीले अन्तत: अदालत जाने निर्णय गरेका छौँ । हामीले लाखौँ खर्च गरी बनाएको सञ्चार सामाग्रीमा उनले हाम्रो लोगो काटेर आफ्नो भनी प्रचारप्रसार गरेका छन्, जुन सरासर हाम्रो सम्पतिमाथिको अन्याय हो । हामी यस विषयमा धितोपत्र बोर्डमा समेत उजुरी गर्ने तयारीमा छौँ ।’
अचम्मको कुरा त के छ भने अरुको बौद्धिक सम्पत्तिको खुलेआम चोरी गर्ने ढकाल नयाँ ब्रोकर एसोसिएसनका अध्यक्षसमेत हुन् भने राष्ट्रिय सहकारी महासंघका संचालक पनि हुन्। आफैं कानुन व्यवसायी भएर पनि अरुको सम्पतिमाथि खुलेआम चोरीचकारी गर्ने ढकाल यसअघि हाथवे फाइनान्स कम्पनीका संचालक पनि थिए । उनले अरुको संचार सामाग्रीको चोरी गरी आफ्नो कम्पनीको सामाजिक संजालमा समेत पोष्ट गरेका थिए ।
‘गल्ती भयो सच्याउँछु’ : ढकाल
यता ढकालले पनि आफ्नो ‘बदमासी’ स्वीकारेका छन् । अरुको बौद्धिक सम्पति चोरी गरेको बारे गरिएको प्रश्नमा उनले आफ्नो तर्फबाट गल्ती भएको र सो गल्ती तुरुन्त सच्याउने बताएका छन् । सुरुमा उल्टै ठुला कुरा गरेका उनले ‘अरुको बौद्धिक सम्पति चोर्न कानुन पढेको मान्छेलाई अलिकति पनि लाज लाग्नुपर्ने होइन ?’ भन्ने हाम्रो प्रश्नपछि गल्ती स्वीकार गरी सो गल्तीलाई सच्याउने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्