×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै पहिलो पटक सुरु भएको ‘वाटर साइकल’ भक्तपुरमा

PRIME CA
GLOBAL IME BANK

नेपालमै पहिलो पटक सुरु भएको ‘वाटर साइकल’ भक्तपुरमा

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी नः पुखुःमा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो ।

शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र तिमिल्सिनाले नः पुखुःमा ‘वाटर साइकल’ को संयुक्त उद्घाटन गरेका छन् ।

वाटर साइकल नेपालका लागि टिएन एड्भेन्चर्सले भक्तपुर नगरपालिकासंग सहकार्य गरी देशमै पहिलोपटक पानीमा चल्ने साइकल संचालनमा ल्याउन सफल भएको संचालक संस्थाका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले बताएका छन् । यसले देशमै विदेशको मनोरन्जन र एड्भेन्चर्स प्राप्त गर्न सकिने उनको जिकिर छ । वाटर साइकललाई पहिलोपटक नेपाल भित्राउने अवसर दिएकामा भक्तपुर नगरपालिकालाई उनले धन्यवाद ज्ञापन गरेका छन् । भक्तपुरको नःपुखु पछि सर्लाहीको बागमती नगरपालिकासंगको सहकार्यमा त्यहाँस्थित भरत तालमा यो संचालन गर्ने सहमती भैसकेको उनको भनाइ छ ।

वाटर साइकललाई नः पुखुमा उद्घाटन गर्दै वडाध्यक्ष श्यामकृष्ण खत्रीले यसले आन्तरिक एवं बाह्र पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । शाहसिक खेल संग समेत जोडिएको वाटर साइक्लिङ्ग स्वास्थ्यको लागि पनि लाभदायक हुने उनको भनाइ छ । वडाध्यक्ष खत्रीले भक्तपुर नगरपालिकाले देशमै पहिलोपटक वाटर साइकल शुरु गर्न सकेकामा गौरवान्वित भएको बताएका छन् ।

उद्घाटन कार्यक्रमका विशेष अतिथि सुनकोशी गाउँपालिकाका प्रमुख तपेन्द्र तिमिल्सिनाले पर्यटनलाई जनजीविकासंग जोड्न पर्नेमा जोड दिंदै भक्तपुर नगरपालिकाले वाटर साइकल संचालन गरी पोखरीलाई पर्यटन, रोजगारी र आम्दानीसंग जोड्न सकिने उदाहरण पेश गरेको प्रतिक्रिया दिएका छन् । विदेश पलायन हुने युवा शक्तिलाई देशमै रोक्न यस्ता सृजनात्मक अवसरहरुले सहयोग गर्ने बिचार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष तिमिल्सिनाले युवा शक्तिलाई बिश्वास गर्नसके देश र समाज सम्बृद्ध हुन सक्ने बताए ।

उक्त अवसरमा वडा नम्बर १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप शुभचिन्तक, नेपाल पत्रकार महासंघ कुवेत शाखाका पूर्व अध्यक्ष हरिकृष्ण न्यौपाने लगायतले वाटर साइकल नेपालमा नयाँ प्रयोग भएकाले यसको प्रचारप्रसारमा जोड दिएका थिए ।

संचालक संस्थाका सदस्य सुजन तिमिल्सिनाले जनाए अनुसार नः पुखुमा सेवाका लागि आधा दर्जन वाटर साइकल तयारी अवस्थामा राखिएको छ । एउटा वाटर साइकलमा एक पटकमा २ जना चढ्न मिल्ने र प्रत्येक साइकल चालकले २ सय रुपैया शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । दुर्घटना जोखिम हुन नदिन वाटर साइकलबारे जानकार जनशक्ति र रेस्क्यु टिम राखिएको तिमिल्सिनाले बताएका छन् ।

कहाँ छ नः पुखुः ?
भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी हुँदै भक्तपुर नगर तर्फ अघि बढ्दा करिब सय मिटरमै इताछेंमा नः पुखु पर्दछ । भक्तपुरको एक्सप्रेस बसपार्क संगैको प्रवेश गेटसंग जोडिएर नः पुखु शुरु हुन्छ । भक्तपुरको नःपुखु पुग्न जिल्ला सरकारी वकिलको कार्यालय र ज्ञान विजय आधारभूत विद्यालयको लोकेशन म्याप हेरेर पनि आइपुगिन्छ ।

खेतीकिसानीबाट साँझ घर पस्नुअघि नःपुखुमा आफ्नो र चौपायाको शरीर तथा औजार पखाल्ने स्थानीयको आखाँकै सामुन्ने नःपुखुले पहिचान फेर्दै गएको छ । केही वर्ष अघि सम्म फोहोर र दुर्घन्धित पोखरी यतिबेला देशकै पहिलो वाटर साइकल संचालन गरिने सफा एवं पर्यटकीय गन्तब्यस्थल बन्दै गएकामा स्थानीयले खुशी व्यक्त गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: