काठमाडौँ । नयाँ कम्पनी दर्ता अब निःशुल्क भएको छ । सरकारले बजेटमार्फत गरेको कम्पनी दर्ता तथा पूँजी वृद्धिमा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयनमा आएसँगै नयाँ कम्पनी दर्ता निःशुल्क भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै सो व्यवस्था कार्यान्वयन गरेको हो ।
यसो त सरकारले गरेको कम्पनी दर्ता निःशुल्कको व्यवस्था चालु आर्थिक वर्षको सुरुवातदेखि नै लागू हुनुपर्ने थियो । तर, तयारी नपुगेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले व्यवस्था कार्यान्वयनमा समय लाग्ने जनाएको थियो । तर, हाल सम्पूर्ण तयारी सकिएपछि मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार उक्त व्यवस्था प्राइभेट तथा पब्लिक कम्पनी दुवैमा लागू हुनेछ । त्यस्तै, विदेशी कम्पनीको कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने कम्पनीका हकमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ ।