काठमाडौं । बैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । रौतहट जिल्ला विश्रामपुर नगरपालिका वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ६ घर भई हाल बसुन्धरा बस्ने ४२ वर्षीय रबिन्द्र अधिकारी पक्राउ परेका हुन् ।
मोहमद शेख इरफान सिध्दिकीले सुर्य बहादुर कार्कीलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु र दुबई पुगेपछी सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक ५० हजार तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा परेर रकम ठगी गरेका थिए । उनले पीडितबाट पटकपटक गरी १ लाख ५० हजार ठगी गरी सम्पर्क विहिन भएका थिए ।
त्यस्तै, रबिन्द्र अधिकारीले प्रेम तामाङ सहित ४ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै २७ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलले नार्गाजुन र बसुन्धराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।