काठमाडौँ । स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुर अधिकृत खगेन्द्र सापकोटा अनुगमनका नाममा विभिन्न व्यापारीहरुसँग ‘घुस असुल्न’ गएको र सोहि रकम लिएर फर्किंदै गर्दा एयरपोर्टमा समातिएको पाइएको छ । उनी अर्का कर अधिकृत दीपक पौडेलसँग अनुगमनका नाममा पैसा असुलीमा विभिन्न स्थान पुगेका र आफुहरुसँग पनि पैसा माग्ने गरेको विभिन्न व्यवसायीहरुले आरोप लगाएका छन्।
छुट्टै प्रदेश भए पनि आन्तरिक राजश्व कार्यालय तुलसीपुरले अन्य प्रदेशकासमेत विभिन्न क्षेत्र हेर्दै आएको छ। लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्युठान, रूकुम पूर्वका साथै कर्णाली प्रदेशका सल्यान र रूकुम पश्चिम पनि सोहि क्षेत्रले हेर्दै आएको छ । यहि कारण पनि त्यहाँका कर अधिकृत असुलीकै लागि विभिन्न स्थानमा पुग्ने र पैसा संकलन गरेर ल्याउने गर्ने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । स्थानीय व्यापारीहरुका अनुसार उनीहरुले विशेषगरी निर्माण व्यवसायी, विभिन्न पसल तथा रेष्टुरेण्टहरुबाट पैसा असुल्ने गरेका थिए । कतिलाई ‘फुल अडिट’का नाममा त कतिलाई हिसाब नमिलेका नाममा उनीहरुको असुलीधन्दा चल्ने गरेको व्यवसायीहरुको दाबी छ ।
व्यवसायीहरुका अनुसार चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएका उनीहरुले त्यहाँका विभिन्न व्यापारीहरुसँग उनीहरुले गरेको त्रुटी अनुसारको घुस रकम माग गरेका थिए । कर अधिकृतले पैसा मागेपछि ‘लफडा व्यहोर्नुको साटो घुस दिएरै भए पनि व्यवहार मिलाउने भन्दै’ त्यहाँका व्यापारीहरुले उनीहरुलाई विभिन्न बैंकबाट झिकेर पैसा दिएको स्थानीय व्यापारीहरुको भनाई छ । ‘उहाँहरु यसअघि पनि घुस असुल्न ठाउँ-ठाउँ आउनुहुन्थ्यो । आफुलाई अडिटर बताउने केहिले उनीहरुको असुली धन्दामा सहयोग पुर्याउँथे ।’ केहि स्थानीय व्यापारीले अर्थ सरोकारसँग भने, ‘यसपटक नबिल बैंक र सानिमा बैंकबाट पैसा झिकेर उनीहरुलाई दिईएको छ । कतिले क्यास पैसा दिएका थिए भने कतिपयले अरुको नाममा चेक काटी उनीहरुलाई पैसा ल्याईदिएका थिए ।’
पक्राउ परेका दुई जनामध्ये पौडेल हाल फरार छन् । दुबैजना पाँच महिनाअघि सरूवा भएर कर कार्यालय तुलसीपुरमा आएका थिए । आफुलाई सार्है दु:ख दिएको भन्दै व्यापारीले दिएको सुराकीका आधारमा २६ लाख रुपैयाँसहित कर अधिकृत सापकोटालाई नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान साढे ७ बजे प्रहरीले पक्राउ गरेको थियो । श्री एयरलाईन्स मार्फत उनीहरु काठमाडौँ आउँदै थिए ।
सापकोटाको पुर्ख्यौली घर विराटनगर हो भने हाल फरार भएका पौडेलको घर स्याङ्जा हो । दुबैको काठमाडौँमा घर छ । उनीहरुले यसरी नै घुस असुलेको पैसाले सम्पत्ति जोडेको हुन सक्ने आशंकामा अहिले प्रहरीले उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । अवको थप अनुसन्धान अख्तियारले नै गर्ने प्रहरीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्