Skip to content
LAXMI SUNRISE BANK

पहिलो त्रैमासमा ४२ प्रतिशतले घट्यो पाकिस्तानको व्यापार घाटा

अर्थ सरोकार

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ ब्यूरो (पीबीएस) ले जनाएको छ ।

पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा नौ अर्ब १५ करोड ९० लाख अमेरिकी डलर थियो ।

पीबीएसका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४२.२५ प्रतिशतले नकारात्मक वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा निर्यात छ अर्ब ८९ करोड ९० लाख अमेरिकी डलर भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ७८ प्रतिशतले कम हो । अघिल्लो वर्षको समीक्षा अवधिमा निर्यात सात अर्ब १७ करोड अमेरिकी डलर बराबरको भएको थियो ।

अर्कोतिर पाकिस्तानको आयात भने समीक्षा अवधिमा २५ दशमलव ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा १६ अर्ब ३२ करोड ९० लाख अमेरिकी डलरको आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १८ करोड ८० लाख अमेरिकी डलरको आयात भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK