काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेको छन् । बिहीबारदेखि काठमाडौंमा सुरु भएको एसियन बैंकर संघको सम्मेलनमा अर्थमन्त्री डा. महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समक्ष लगानी गर्न आह्वान गरेका हुन् ।
‘नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ’, अर्थमन्त्री डा. महतले भने, ‘भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा जलविद्युतमा लगानीको प्रशस्त सम्भावना छ । त्यसैले जलविद्युत्मा ढुक्कसँग लगानी गर्नुस् । सहजिकरणका लागि सरकार प्रतिबद्ध छ ।’
सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने भन्दै उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उल्लेख गरे । विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको ठूला जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको भन्दै उनले विदेशी लगानी आकर्षण गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनेमा विश्वास दिलाए ।
उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए । सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको अर्थमन्त्रीको भनाइ छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले विभिन्न चुनौतीकाबीच मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गरे । उनले आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने क्षेत्रमा बैंकिङ क्षेत्रका स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको भन्दै दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी रहेको बताए ।