Skip to content
LAXMI SUNRISE BANK

भारतद्वारा रुपन्देहीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

अर्थ सरोकार

काठमाडौँ । भारत सरकारको सहयोगमा रुपन्देहीमा विद्यालय निर्माण भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको एक करोड २५ लाख रुपैयाँको लागतमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको भवन निर्माण भएको हो । उक्त भवनको उपराष्ट्रपति रामसहाय यादवले भारतीय राजदूतावासका कार्यबाहक राजदूत प्रसन्न श्रीवास्तवको उपस्थितिमा औपचारिक उद्घाटन गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो ।

कार्यक्रममा बोल्दै सम्माननीय उपराष्ट्रपतिले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको बताएका छन् ।

त्यस्तै, भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताएका छन् । साथै, उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पोखरभिण्डी माध्यमिक विद्यालय सन् १९५९ मा स्थापना भएको हो । त्यसयता यस क्षेत्रका विद्यार्थीलाई कक्षा १० सम्मको शिक्षा दिँदै विद्यालयले राम्रो शैक्षिक वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । विद्यायलमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा करिब ५५% छात्रा रहेका छन् ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । रुपन्देही जिल्लालाई हालसम्म २९ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK