Skip to content
LAXMI SUNRISE BANK

गृह मन्त्रालय सुधारको लागि अध्ययन समिति गठन

अर्थ सरोकार

काठमाडौं । गृह मन्त्रालय सुधारको लागि अध्ययन समिति गठन भएको छ । पूर्व मुख्य सचिव लीलामणि पौड्यलको संयोजकत्वमा गठित १० सदस्यीय समितिले गृह मन्त्रालय अन्तर्गतका निकायहरुको प्रभावकारी कार्य सम्पादन गरी सुधार ल्याउन आवश्यक अध्ययन गरी कार्य योजना बनाउने भएको छ ।

समितिमा प्रहरी, सशस्त्र प्रहरी, समाज शास्त्री, सूचना प्रविधि विज्ञ लगायत विभिन्न प्रशासनिक निकायमा रही कार्य गरेका अनुभवी व्यक्तिहरु सदस्यका रुपमा रहेका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, गठित समितिले बनाउनले प्रतिवेदन पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै सबैको साथ आवश्यक रहेको बताए । गृह मन्त्री श्रेष्ठले भने, ‘गृह मन्त्रालयको सम्पूर्ण कामहरूलाई अझ धेरै प्रभावकारी र परिणाममुखी बनाउन हामी प्रतिबद्ध छौँ । पत्रकार साथीहरूले पनि सधैँ सुशासनको सन्दर्भमा स्वच्छताको सन्दर्भमा ,शान्ति सुरक्षाको सन्दर्भमा जति पनि अपराध नियन्त्रण सम्बन्धी गृह मन्त्रालयले काम अगाडि बढाएको छ । त्यसमा सधैँ हार्दिकतापूर्वक सहयोग गर्नुभएको छ । अहिले पनि गृह मन्त्रालयको सुधार कार्य योजना निर्माण गर्ने जुन योजना छ । तपाईहरुको त्यसमा पनि त्यति नै सहयोग हुने अपेक्षा विश्वास सहित अनुरोध पनि गर्दछु ।’

गठित समितिले आफ्नो कार्य सम्पादनका लागि आवश्यकता अनुसार विषयगत उप समिति गठन गरेर कार्य अगाडि बढाउने श्रेष्ठको भनाई छ । उनले भने, ‘सात वटा क्षेत्रको सुधार सम्बन्धी निर्णय गरेका छौं, जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाहको काम त्यसमा पनि विपद् व्यवस्थापनको काम ,विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको कुरा छ । अर्को राष्ट्रिय परिचयपत्रको कामलाई कसरी अझै प्रभावकारी बनाउने भन्ने छ यो सबै क्षेत्रको कामलाई सुधार गर्नका लागि हामीले सहजै यसको परिणाम देख्न सक्ने गरी हामीले यो अध्ययन कार्यदल प्रतिनिधि समिति गठन गरेका छौँ ।’

त्यसै गरी, समितिका संयोजक लीलामणि पौड्यलले आफूहरूलाई सुम्पेको जिम्मेवारी ईमान्दारी पूर्वक र लगनशिलताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘हामीलाई सुम्पेको जिम्मेवारी हामीले ईमान्दारीता पूर्वक र लगनशिलताका साथ पूरा गर्ने छौँ । यसमा नेपाल सरकार र विशेष गरी गृह मन्त्रालयको सहयोग पूर्ण रुपमा हुन्छ भन्ने विश्वास गर्छौं ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK