×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरिबोधनी एकादशी : काठमाडौंसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो… (फोटो-कथा)

PRIME CA

हरिबोधनी एकादशी : काठमाडौंसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो… (फोटो-कथा)

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आज हरिबोधनी एकादशी । काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएको देखिएको थियो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु भगवान् आज ब्युँझनु हुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ । मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगारेपछि फूलको माला लगाइदिएर तुलसीको विवाह गर्ने गरिन्छ ।
तुलसीलाई विष्णुप्रिया पनि भन्ने गरिएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा रहिआएको हो । विष्णु भगवानको प्रतिकका रुपमा तुलसीको मठको नजिकै पारेर निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । हरेक वर्षको कार्तिक महिनाभर देवीदेवताहरु तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ ।
हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ । नारायणको पूजा गरी आजको दिन भक्तजनहरु फलाहार गर्ने गर्दछन् । आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रुपमा खाने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: