×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौँ । टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’ सार्वजनिक भएको छ । आईडिया जार डिजिटल कम्पनीले नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको हो ।

कम्पनीले सञ्चालनमा ल्याएको एपमा भिडियो हेर्न, अपलोड गर्न, लाइभ गर्न,  भिडियो एक्सप्लोर गर्न, लाईक, कमेन्ट र शेयर गर्न मिल्ने सुविधासमेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको हो ।

एपले पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो । नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै  नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको कम्पनीले जानकारी दिएको छ ।

नेपालमै बनेको यस एपलाई  नेपाली प्रयोगकर्ताहरूले  रुचाउने अपेक्षा कम्पनीको छ । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेको यस समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको भनाइ छ ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानूनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानूनी दायरामा ल्याउनका लागि सरकारलाई सहयोगसमेत गर्नेमा कम्पनी प्रतिबद्ध भएको छ । पछिल्लो समय लोकप्रिय बनेको अन्य सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताउँदै आएको छ ।

सामाजिक सद्भावमा असर पुर्‍याउने सामाग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्ने देखि एकाउन्ट नै सदाको लागि बन्द गराउने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले नेपाल सरकारको प्रचलित कानुनलाई सम्मान गर्दै आवस्यक सन्दर्भमा नेपाल सरकारका सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहयोग गर्ने  जनाएको छ ।  नेपालमै बनेको यस्तो एपले सफलता पाएमा भविष्यमा अन्य मुलुकका सामाजिक सञ्जाल प्रयोग र गरिने विज्ञापनबाट नेपाली रकम बाहिरिने क्रम न्यूनीकरण हुन सक्ने सम्भावनासमेत रहन्छ ।

त्यस्तै, नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्नेछन् । प्रयोगकर्ताहरूको सुझावका आधारमा कम्पनीले यस एपलाई विकास गर्दै लैजाने जनाएको छ ।

रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्नेछन् । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: