×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारततर्फ निर्यात

PRIME CA
GLOBAL IME BANK

४ महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारततर्फ निर्यात

७ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको हो ।

विद्युत निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रूपैयाँले बढी रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रूपैयाँ आर्जन गरिएको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो । जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रूपैयाँ आर्जन भएको छ।

यस्तै, प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख रुपैयाँ, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत निर्यात गरेको हो । सो अवधिसम्मको औसत विद्युत बिक्री दर प्रतियुनिट ९ रूपैयाँ १८ पैसा रहेको छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट ७ रूपैयाँ ७६ पैसा रहेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४ महिनाको अवधिमा विद्युत निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारु आर्जन भएको बताएका छन् । उनले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: