×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मिडिया बिग्रिनुको मुख्य कारण लगानीकर्तालाई मिडिया के हो भन्ने नै थाहा नभएर हो’,- सञ्चारविद् सुधांशु दाहाल 

PRIME CA

‘मिडिया बिग्रिनुको मुख्य कारण लगानीकर्तालाई मिडिया के हो भन्ने नै थाहा नभएर हो’,- सञ्चारविद् सुधांशु दाहाल 

५ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले अहिले पनि टेलिभिजनको महत्व कम नभएको बताएका छन् । विश्व टेलिभिजनको अवसरमा कुराकानी गर्दै उनले अहिले नेपाली टेलिभिजनको महत्व नघटेको बताएका हुन् । बरु टेलिभिजनमा प्रसारण हुने ‘कन्टेन्ट’को स्तर भने खस्किएको दाहालको भनाई छ । 

उनले हाल प्रसारणको शैली र माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व घट्यो भन्न नमिल्ने बताएका छन् । ‘टेलिभिजनको महत्व अहिले पनि घटेको छैन, केवल स्क्रिनको साइज मात्रै परिवर्तन भएको हो । टेलिभिजनमा प्रसारण हुने सामाग्री जति बलियो भयो त्यति नै टेलिभिजनको महत्व बढ्ने हो । र अहिले टेलिभिजनको आफ्नै महत्व छ ।’, दाहालले भने, ‘अहिले मिडियामा जानकार नभएकाहरु नै सबैभन्दा बढी टेलिभिजनमा आकर्षित देखिन्छन् । यसले बजारमा मिडियामा प्रसारण हुने सामाग्री प्रायः उस्तै भेटिन्छन् । यसले टेलिभिजनमा प्रसारण हुने सामाग्रीको स्तरचाहिँ खस्किएको छ ।’ 

टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने दाहालको भनाई छ । उनले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरेका छन् । टेलिभिजन र टेलिभिजनमा प्रसारण हुने सामाग्रीलाई राम्रोसँग व्यवस्थापन गर्नसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको दाहालले बताएका छन् । ‘टेलिभिजनहरुले समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । टेलिभिजन र प्रसारण हुने सामाग्री व्यवस्थित गर्न सके हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन ।’ 

त्यस्तै, नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमान्दारिता पस्किनुपर्ने समेत दाहालले बताएका छन् । उनले हाल नेपाली टेलिभिजनहरुमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको उल्लेख गरेका छन् । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने प्रवृत्तिले टेलिभिजनका दर्शक अर्कैतर्फ मोडिएको दाहालको भनाई रहेको छ ।

उनले नेपालमा टेलिभिजनलाई मात्रै नभएर समग्र मिडियालाई नै हेर्ने दृष्टिकोण कमजोर हुँदै गएको बताएका छन् । आफ्नो स्वार्थका लागि मिडियाको प्रयोग गर्ने हो भने सञ्चारमाध्यमको भूमिका थप कमजोर बन्दै जाने दाहालले बताएका छन् । त्यस्तै उनले टेलिभिजन जस्तो सशक्त माध्यम कमजोर हुनु दुःखद् भएकोसमेत बताएका छन् । 

त्यस्तै, विज्ञ दाहालले सञ्चारमाध्यमलाई उपयोग गर्ने साधन मात्रै बनाउनु नहुने बताएका छन् । एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरुतिर लगानी गर्ने परिपाटि विकसित भएकोले अहिले सञ्चारमाध्यममा पारदर्शिता नभएको दाहालले बताएका छन् । ‘मिडिया उपयोग गर्ने साधन मात्रै बनेको देखिन्छ । एउटा लगानी मिडियामा गर्ने र मिडियालाई प्रयोग गरेर अरु लगानीतिर धेरै जसो आफूलाई सुरक्षित गर्दै लैजाने गरेको देखिन्छ ।’, उनले भने, ‘पछिल्ला समय मिडियामा आएको मन्दीलाई सूक्ष्म रुपमा पनि अध्ययन गरिएको छैन । अधिकांशहरुले महिनौँसम्म तलब नै नपाउने स्थिति छ । अब राज्य उपेक्षित भएर रहन सक्दैन ।’

साथै उनले मिडियामा हुने वैश्विक (ग्लोबल फण्ड वा वैदेशिक लगानी) लगानी नेपालमा धेरै नआउने बताएका छन् । नेपालमा मिडियाको सबलीकरण गर्न आवश्यक रहेको बताउँदै दाहालले यसमा सरकार आगाडि आउन आवश्यक रहेको बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: