काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्ममा करिब १ करोड ९२ लाख खुद नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड ४२ लाख खुद नोक्सानीमा रहेको संस्थाले गत आर्थिक वर्षमा खुद नाफा आर्जन गर्न सफल भएको छ । २ करोड ७२ लाख भन्दा बढी सञ्चालन नाफा गरेको संस्थाको गत आर्थिक वर्षमा इम्पेयरमेन्ट चार्जबापतको १ करोड ३८ लाख भन्दा बढी रकम फिर्ता भएसँगै संस्था नाफामा गएको हो ।
त्यसैगरी १० करोड ९३ लाख ७५ हजार सेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ५ करोड ४७ लाख ७ हजार २ सय २५ रहेको छ । करिब १ करोड ४३ लाख वितरण योग्य नाफा रहेको संस्थाको प्रति सेयर आम्दानी १७.५३ र प्रति सेयर नेटवर्थ १५०.०२ छ ।
संस्थाले समिक्षा अवधि सम्ममा ३३ हजार ७ सय १८ सदस्यहरूबाट ९८ करोड ७८ लाख भन्दा बढि निक्षेप सङ्कलन गरेको छ । आर्थिक वर्ष ७९-८० मा ७.९ प्रतिशत रहेको निष्क्रिय कर्जा समिक्षा अवधिमा ४.४६ प्रतिशतमा झरेको विवरण प्रकाशित गरेको छ ।