काठमाडौँ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छ भने शोधनान्तर स्थिति पाँच खर्बभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह २३. २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई लाख ७७ हजार दुई सय ७२ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष २०८०र८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । गत आवमा पुँजीगत ट्रान्सफर २२ दशमलव नौ प्रतिशतले कमी आई रु पाँच अर्ब ८१ करोड पुगेको छभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब १७ करोड रहेको थियो ।
गत आर्थिक वर्षमा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा २०८१ असार मसान्तमा ३७. ४ प्रतिशतले वृद्धि भई रु १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बमकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई रु एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ .६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन् । विसं २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८. ८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए । गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व रु १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्