Skip to content
LAXMI SUNRISE BANK

‘अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ’ -अर्थमन्त्री 

अर्थ सरोकार

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताएका छन् । आइतबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताएका हुन् ।
‘आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ’, अर्थमन्त्री पौडेलले भने, ‘केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो ।’ उनले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए । अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो ।
मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए । निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राखेका थिए ।
‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ । सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ’, उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’ चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए ।
सोहि अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताए । ‘बाह्य क्षेत्र सहज छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको  छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ’, गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के-के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौँ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK