Skip to content
LAXMI SUNRISE BANK

विद्यार्थीलाई आयआर्जनसँग जोड्न विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

अर्थ सरोकार

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका-७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए ।

विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन गर्न सुरु गरेको श्रेष्ठको भनाइ छ । ‘कम्पाउण्डभित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ ।’, उनले भने ।

उत्पादित लप्सीको अचार प्रतिबट्टा रु एक सय ५० मा बिक्री भइरहेको संयोजक श्रेष्ठको भनाइ छ । ‘भर्खरमात्र उत्पादन सुरु गरिएकाले राम्रो पनि भइरहेको छ ।’, उनले भने, ‘विद्यालयकै जग्गामा आँपका रुखसमेत प्रशास्त भएकाले अब यामअनुसार आँपलगायतको अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ ।’

त्यस्तै, श्रेष्ठले विद्यालयले थालनी गरेको कामले बालबालिकामा स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताएका छन् । उत्पादित अचार सहजै बिक्री भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए । विद्यालयले तत्कालका लागि अचार बनाउन लाग्ने खर्च र सामानको मूल्याङ्कन गरेर अचारको मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ ।

‘उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ बट्टासम्म माग गर्दा एक बट्टा दिन पनि सकिएन ।’, उनले भने, ‘अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पुर्याउन गाह्रो छ ।’ अचार उत्पादन गर्न ८ कक्षादेखि १२ कक्षासम्म विद्यार्थीलाई सिकाउन थालिएको श्रेष्ठले बताएका छन् ।

‘स्थानीयस्तर कतिपय उत्पादन खेर गइरहेका पनि छन् त्यसलाई सही सदुपयोग गरे राम्रो आयआर्जन गर्न पनि सकिनेरहेछ ।’, उनले भने, ‘त्यसैका लागि हामीले यो कामको थालनी गरेका हौँ ।’ उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको ‘स्टिकर’ टाँसेर बिक्री गरिरहेको श्रेष्ठले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK