काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले मंगलबारदेखि बचतकर्ताको बचत फिर्ता गर्ने भएको छ । राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाका अनुसार बैंकमा बचतकर्ताको निक्षेप सुरक्षित रहेको र मंगलबारदेखि भुक्तानी दिन सुरु गर्ने बताएका छन् ।
खतिवडा कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले बैंकमा पठाएको समस्या व्यवस्थापन समूहका संयोजक हुन् ।
उनका अनुसार बैंकमा मंगलबारदेखि बचतकर्ताको आवश्यकताका आधारमा बचत रकम फिर्ता गर्ने कार्य सुरु हुनेछ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको समस्या समाधानको पहिलो चरणमै बचतकर्ताको बचत फिर्ता गरिनेछ ।
तर, बैंकमा मुद्दती खातामा निक्षेप राखेका बचतकर्ताहरुलाई भने अन्तिममा भुक्तानी गर्ने तयारी भएको समस्या व्यवस्थापन समूहका एक सदस्यले बताएका छन् ।
हाल राष्ट्रबाट खटाइएको समस्या व्यवस्थापन समूहले बैंकको अन्य शाखाहरुको अवस्था र स्थितिका विषयमा पनि जानकारी लिइसकेको छ । बाँकै, बर्दिया र दाङमा गरी ती जिल्लाबाट सेवा विस्तार गरिरहेको बैंकमा करिब ५० हजार बचतकर्ताको साढे पाँच अर्ब रुपैयाँ बचत र झण्डै तीन अर्ब रुपैयाँ कर्जा विस्तार गरिएको पाइएको छ ।
यता बैंक समस्याग्रस्त घोषणा भएलगत्तै नेपाल स्टक एक्सचेञ्जले बैंकको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरेको थियो । नेप्सेले हाल राष्ट्र बैंकले ‘टेक ओभर’ गरेको अवस्थामा लगानीकर्ताको हितका लागि कारोबार रोक्का गरेको र अर्को व्यवस्था नहुन्जेलसम्म कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार स्थगन रहने जनाएको छ । अर्कोतर्फ सेयर लगानीकर्ताहरु भने यसरी नेप्सेले कारोबार रोक्का गर्नु लगानीकर्ताको अधिकार विपरित भएको भन्दै अदालत जाने तयारी गरेको बुझिएको छ ।