काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकहरुले भकाभक पैसा निकाल्न थालेका छन् । यसअघि नेपाल राष्ट्र बैंकले सीघ्र सुधारात्मक कारवाही गर्दा नै ठुलो परिमाणमा पैसा निकाल्नेहरु बढेका थिए । निकै धेरै पैसा निकालिएपछि बैंकले नियमित कारोबार भईरहेको भन्दै झुटो विज्ञप्ति निकालेको थियो ।
अहिले बाँकी केहि पैसा निकाल्नेहरु बढेपछि अनलाइन बैंकिङ र मोबाइल बैंकिङमै समस्या देखिएको छ । यतिसम्मकि बैंकले आफ्नो वेवसाइटसमेत नचल्ने बनाईसकेको छ ।
बिहीबार विहानैदेखि बैंकमा पैसा निकाल्नेहरुको लाइन देखिने प्रष्ट छ । यद्यपी आजकल इन्टरनेटबाटै पैसा ट्रान्सफर गर्न सकिने हुनाले अपेक्षित लाइन भने नदेखिन सक्ने स्वयम् बैंकका अधिकारीहरुको दाबी छ ।
यसअघि नेपाल बंगलादेश बैंक, नेपाल बिकास बैंक, सेयर मार्केट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सजस्ता बैंक तथा वित्तीय संस्थाहरु यसैगरी समस्याग्रस्त घोषणा भएका थिए । ती मध्ये नेपाल बंगलादेश बैंक उक्सिएको थियो भने नेपाल बिकास बैंकलाई एक बाणिज्य बैंकले प्राप्ति गरेको थियो । सेयर मार्केट फाइनान्स र क्यापिटल मर्चेन्ट अहिले पनि उक्सिन सकेका छैनन् ।