काठमाडौँ । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् ।
तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरुले चाडपर्व, विवाह, व्रतबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरु बताउँछन् । असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवशकै लागि भनेर मानिसहरु टोपी किन्न नआउने गरेको बताएका छन् ।
‘म यो पसलको पाँचौ पुस्ता हुँ । सय वर्ष नै भइसक्यो यहाँ टोपी बेच्न लागेको । ढाकाटोपीको माग पहिला भन्दा त धेरै नै घटेको हो । तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरुको लागि माग हुने गरेको छ ।’, उनले भने, ‘अलिक उमेर ढल्केकाहरुले कहिलेकाँही खोज्नुहुन्छ । युवाहरुले त सोध्नु पनि हुँदैन । टोपी दिवसकै लागि भनेर आउनेहरुचाहिँ एकदमै कम छन् ।’
रोल्पाका मनोजमणि आचार्य नेपालीहरुको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन् । ‘नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरुले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ । पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ । यसको मौलिकता छ ।’, उनी भन्छन्, ‘युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ । तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ ।’
वि.स.२०७० सालदेखि नेपालीहरुमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बूढा टोपी दिवस मनाउनुपर्ने बताउँछन । उनी भन्छन्, ‘ढाका टोपी दिवस मनाउनुपर्छ । यो हाम्रो पहिचान पनि हो । दौरा, सुरुवाल, टोपी त नेपालीहरुको पोसाक नै हो नि ।’
त्यस्तै, असनमै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नपालीहरु र नेपाल घुम्न आएका विदेसीहरुले टोपी खोज्ने गरेको बताउँछिन । ‘नेपालीहरुले मात्र नभएर विदेशीहरुले पनि ढाका टोपी खोज्छन् ।’, उनले भनिन्, ‘पहिला एक लाखजति व्यापार हुने गरेकोमा अहिले चारपाँच लाखसम्मको व्यापार हुन्छ । तर, ढाकाटोपी मात्रैको भने यस्तो व्यापार छैन ।’
बाउबाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातीलाई सिकाउनका लागि भएपनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन । उनले भने, ‘नेपाली पहिचानको लागि टोपी लगाइहन्छु । नेपाली पहिचान झल्काउँछ । बाउबाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो । यो त हाम्रो छोरा नातीलाई शुद्ध सिकाउनपर्छ ।’