काठमाडौँ । इसेवा हप्तैपिच्छे बिग्रिरहनु र आइएमई पेको मर्जरको घोषणा हुनुभित्र षड्यन्त्र देखिनेगरी गम्भीर प्रकृतिको ‘संयोग’ देखिएको छ । आइएमई खल्ती डटकम डोमेनमा आउन लागेको आईएमई पे र खल्तीको मर्ज्ड वालेटको मर्जर टुंगो लाग्ने वरपरको समयबाट इसेवा बिग्रिन थालेको र आइएमईखल्ती डटकम दर्ता भएको दिनबाट इसेवा पटक पटक बिग्रेको र इसेवा यसरी बिग्रिएपछि प्रयोगकर्ताहरु आइएमई पे र खल्तीमा सिफ्ट भएको पाइएको छ ।
अव यो विषयलाई तथ्यमा हेरौं ।
खल्ती र आईएमई पेको मर्जरको विषयमा केहि समय अघि देखि नै छलफल भए पनि यो प्रक्रिया सिरियस रुपमा २०२४ डिसेम्बर दोश्रो साता अगाडी बढेको थियो । आईएमई पे र खल्तीका अधिकारीहरुबीच वालेटको नाम के राख्ने भन्ने विषयमा छलफल भएको थियो । अचम्मको संयोग त के छ भने, डिसेम्बर दोश्रो सातामा आईएमई पे र खल्ती बीच मर्जर प्रक्रिया सिरियसली अगाडी बढेको केहि दिनपछि नै अर्थात डिसेम्बर २ तारिखमा इसेवामा ठुलो समस्या आएको देखिन्छ । इसेवामा त्यति बेला कतिपय सेवामा भुक्तानी नहुने समस्या देखिएको थियो । त्यतिबेला इसेवाले सूचना नै प्रकाशन गरेर आफ्नो वालेटमा समस्या देखिएको भनेको थियो भने केहि समयपछि आफ्नो सेवा सूचारु भएको जानकारी दिएको थियो ।



यस अगाडी इसेवामा यस्तो समस्या बिरलै देखिन्थ्यो । तर आईएमई पे र खल्तीबीचको मर्जरको प्रक्रिया अगाडी बढ्ने बित्तिकै इसेवामा ठुलै समस्या आउनेगरी अचम्मको संयोग देखियो ।
इसेवा हप्तेपिच्छे बिग्रने समस्या यसअघि देखिएकै थिएन । तर आईएमई पे र खल्तीको मर्जर प्रक्रियाले मुहुर्त रुप दिनै लाग्दा डिसेम्बर २६ तारिखमा इसेवामा पुन: समस्या आयो । अर्थात एक दिन बिग्रिएर सुल्झाइएको भनिएको समस्या ३ दिनपछि पुन: देखियो । सो दिन पनि थुप्रै प्रयोगकर्ता इसेवाबाट सिफ्ट भई खल्ती र आइएमई पेसम्म पुगेको देखिन्छ ।

यसैबीच खल्ती र आइएमइ पे मर्जरको औपचारिक आन्तरिक निर्णय डिसेम्बर ३१ मा भएको देखिन्छ । आइएमईखल्ती डटकम डोमेन दर्ता भएको मिति २०२४-१२-३१ तारिखले यसको पुष्टी गर्छ । २०२४ डिसेम्बर ३१ गते सो डोमेन दर्ता भएपछि पुन: जनवरी २७ मा इसेवा बिग्रिएको छ । इसेवाको १६औ एनिभर्सरी २५ जनवरीमा मनाइएको थियो । एनिभर्सरी अगाडी एप बिग्रने क्रममा ज्ञाप हुनु र एनिभर्सरी सकिने बित्तिकै जनवरी २७ मा पुन: इसेवा बिग्रनुले अनेक शंकामा बल दिएको थियो ।
इसेवा बिग्रने क्रम यतिमै रोकिएन । पुन: फेब्रुवरी २ तारिखमा इसेवामा समस्या आयो । त्यसको एक साता नबित्दै पुन: फेब्रुअरी ६ मा इसेवामा ठुलै समस्या देखियो । त्यसको केहि दिनपछि अर्थात फेब्रुअरी १६ मा आईएमई पे र खल्ती मर्जरमा जाने घोषणा गरियो भने राष्ट्र बैंकमा सो को प्रक्रिया अगाडी बढिसकेको भन्ने समाचार बाहिरियो ।

इसेवा बिग्रिदा पनि इसेवाका प्राविधिक कर्मचारीले यो नियोजित भएको आशय प्रकट गरिरहेका थिए । इसेवा स्रोतलाई नै कोड गरेर हामीले इसेवा बिग्रिनु र त्यहाँका सीइओले कम्पनी छोड्न लागेको चर्चा चल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ भनेर प्रष्ट लेखेका थियौँ । अझ इसेवाका कर्मचारीले पहिलोपटक इसेवा वालेटमा समस्या आएकै दिनपछि पटक पटक केहि समयका लागि इसेवामा समस्या आउने बताएका थिए । हामीले उनीहरुको सो दाबीलाई पनि कोड गरेका थियौँ । नभन्दै त्यस्तै भयो, इसेवा बिग्रिरह्यो, र अन्तत: आइएमई र खल्ती मर्जरको समाचार बाहिरियो ।
यो बीचमा इसेवाका सीइओ जगदीश खड्काले खल्तीका सीइओलाई समेत पटक पटक सम्पर्क गरेको देखिन्छ । यसअघि खासै यसरी तारान्तर बिग्रने समस्या नदेखिएको भए पनि यसपटक भने इसेवा शंका मात्र होइन, पूरापुर शंका हुनेगरी बिग्रियो । अझ इसेवा बिग्रिरहेका बेला इसेवाकै कर्मचारीहरु भन्दै थिए, इसेवा बिग्रनुको कारण केहि समयपछि थाहा हुन्छ, एप पटक पटक बिग्रनेवाला छ । हामीले यीनै खबर अर्थ सरोकारमार्फत प्रकाशन गरिरह्यौं । संयोग नै सहि आखिर यस्तै भयो ।
आशा गरौँ, यो संयोगमात्र होस् । किनकि यदी यो षड्यन्त्र थियो भने यो हदैसम्मको बदमासी हो, इसेवालाई सीइओले दिएको धोका हो । यदी यो संयोगभन्दा बढी केहि हो भने, यो हदैसम्मको कर्पोरेट बेइमानी हो । अझ तथ्य यस्तो पनि देखिएको छ, इसेवामा खासै नेगेटिभ कमेन्ट पछिल्लो समय कम आउंथे । तर निरन्तर इसेवा बिग्रिएपछि नकारात्मक कमेन्टको ओहिरो मात्र थिएन, इसेवा खत्तम भयो, झुर भयो, अव आईएमई पे जाने हो भनेर कमेन्टगर्नेहरुमध्ये केहि इसेवामा प्राविधिक रहेकाहरुकै साथीभाई थिए । इसेवाले यो विषयलाई चानचुन लिनु हुन्न, हुँदै हुन्न । यदी यो संयोग भन्दा बढी केहि रहेछ भने, इफ र बट बिना इसेवालाई धोका दिनेहरुमाथि कारवाही हुनुपर्छ । (भिडियो)