काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सेयर बजारका विषयमा बोल्दै पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेका हुन् ।
कार्यक्रममा उनले सेयर बजारलाई धेरैले जुवा घर भन्ने गरेको र सेयर बजार वास्तवमा अनुत्पादक क्षेत्र भएको बताएका छन् । उनले पैसा हुनेहरुले केही लगानी गरेर सजिलै पैसा कमाउन सेयर बजारलाई माध्यमका रुपमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।
उनले सेयर बजारमा गरिएको लगानीले उचित प्रतिफल नदिने बताए । सेयर बजारसँगै गरगहना र घरजग्गामा गरिएको लगानीबाट पनि उचित प्रतिफल नपाइने दाबी गर्दै पुनले यी क्षेत्रमा गरिएको लगानीले विकास समेत अवरोध सृजना गर्ने टिप्पणी गरेका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि सेयर लगानीकर्ता उनीप्रति रुष्ट बनेका छन् । अर्थमन्त्री हुँदै गर्दा सेयर बजारका विषयमा सकारात्मक टिप्पणी दिएका पुनले सत्ताबाट बाहिरिएपछि बजारको विषयमा नकारात्मक टिप्पणी गर्नुले उनको दोहोरो चरित्र छर्लंग पारेको भन्दै लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।