काठमाडौँ । सर्लाहीमा नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नोटसहित पाँचजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका-७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका-२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका-९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी रहेका छन् ।
प्रहरीका अनुसार बा ४७ प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा सो परिणाम बराबरको नक्कली नोट फेला परेको हो ।
उनीहरुको साथबाट एक हजार दरको ८८ बन्डल नक्कली नोट बरामद गरेको सर्लाही प्रहरीले जनाएको छ । ती बन्डलमा तलमाथि एकएक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो । पक्राउ परेका पाँचै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो । सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।
नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।