काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परको अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै झाले यस्तो माग गरेका हुन् ।
उनले टिप्परहरुले कानून नमान्दा दुर्घटना बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको माग गरेका छन् ।
अहिले टिप्परमा स्थानीय तहका जनप्रतिनिधिहरुको लगानी धेरै भएको दाबी गर्दै सांसद झाले उनीहरुले नै कानून नमान्ने गरेको आरोप लगाएका छन् । उनले स्थानीय नेताहरुकै लगानीका टिप्पर हुँदा नियमन गर्ने निकाय र राज्य पनि कमजोर भएको उनको भनाई छ ।
त्यस्तै, दैनिक ९७ वटा सडक दुर्घटना हुने र ७ जनाले ज्यान गुमाइरहेको तथ्यांक प्रस्तुत गर्दै सांसद झाले धेरैजसो सडक दुर्घटना टिप्परका कारण हुने बताएका छन् । उनले टिप्पर चालकहरुलाई तलब कम दिइने तर ‘टिप’का हिसाबले भत्ता धेरै दिइने हुँदा धेरै ‘टिप’ गर्ने हतारोमा सवारी दुर्घटना हुने गरेको बताएका छन् । यही कारण टिप्परका लागि छुट्टै लाइसेन्सको व्यवस्था गर्न उनले माग गरेका छन् ।