काठमाडौँ । बीमाको रकम पाउने लोभमा पोखरामा पसल सञ्चालक आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको छ । पोखरा महानगरपालिका-८ न्युरोडस्थित शर्मा आईटी हबका सञ्चालकले बीमाबापतको एक करोड रुपैयाँ पाउने लोभमा आफैँले आफ्नै पसलमा आगो लगाएको पाइएको हो ।
उक्त आईटी हबका सञ्चालक रमेश शर्मा हुन् । उनले मोबाइल चार्ज गर्ने क्रममा पसलमा आगो लागेको भन्दै निवेदन दिएका थिए ।
उक्त आईटी हब गत पुसमा खुलेको थियो । पसलका सञ्चालक शर्माले उक्त पसलको माघमा १ करोडको बीमा गरेका थिए । पसलमा आगलागी फागुन मध्यतिर भएको थियो । पसलको आगो नेपाल प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।
लगत्तै पसल सञ्चालक शर्माले पसल आगलागीको घटना जानकारी गराउँदै बीमा दाबी भुक्तानीका लागिसमेत निवेदन दिएका थिए । तर, घटना शंकास्पद लागेपछि प्रहरीले गरेको अनुसन्धानबाट कामदारलाई बिदा दिएर रमेश आफैँले पसलमा आगो लगाएको खुलेको छ । हाल प्रहरीले पसलका सञ्चालक रमेश शर्मालाई पक्राउ गरेको छ । हाल उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
यसअघि गत साउनमा पनि पोखरा लेकसाइडमै रहेको मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालकले घाटा भएपछि बीमाको रकम पाउने लोभमा आफैँले पसलमा आगो लगाएको घटना सार्वजनिक भएको थियो ।