काठमाडौँ । सांसदहरुले भन्सार जाँचपासपछि अनुसन्धानका नाममा व्यवसायीहरुलाई दुःख नदिन माग गरेका छन् । बुधबार अर्थ समितिको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले अनुसन्धानका नाममा मालबाहक गाडीहरुलाई दुःख नदिन माग गरेका हुन् ।
सांसदहरुले अनुसन्धानका नाममा मालबाहक गाडीलाई गन्तव्यसम्म जान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी संयन्त्रहरु अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी भन्सार विभागलाई दिनुपर्ने हालको प्रस्तावित व्यवस्थामा असहमति राखेका छन् । उनले भन्सार जाँचपासपछि मालवाहक गाडीहरुलाई निर्वाध रुपमा गन्तव्य ठाउँसम्म पुग्न दिनुपर्ने बताएका छन् । बाटोघाटोमा दुःख दिने काम गर्न नहुने भन्दै त्यसका लागि कानूनी प्रबन्ध गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै, बैठकमा राजश्व सचिव दिनेश घिमिरेले राजस्व नोक्सानी समेत नहुने गरी व्यवसायीक वातावरण बनाउनुपर्ने जोड दिएका छन् । यता भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय भन्सार कार्यालय वा राजस्व अनुसन्धानले पक्राउ गरेमा २४ घण्टाभित्र महानिर्देशकलाई जानकारी दिने व्यवस्था राखिएको उल्लेख गरेका छन् ।
त्यस्तै, नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले जाँचपासका नाममा समेत विभिन्न दुःख दिने काम भएको बताएका छन् । जाँचपास गर्दा जुनसुकै सिलबन्दी गरिएका वस्तुलाई पनि कब्जा गरेर नियन्त्रण लिनेबारे ख्याल गरिनुपर्ने उनले बताएका छन् । बुधवारको अर्थसमिति बैठकले भन्सार विधेयकमा रहेको अस्थायी निकासी गर्न दिइने बारेका व्यवस्थालाई अनुमोदन गरेको छ । योसँगै कुनै वस्तुको कच्चा पदार्थ प्रशोधन वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि वा कुनै वस्तु मर्मतको लागि वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैंक जमानत लिई अस्थायी निकासी गर्न कानून अनुसार भन्सार अधिकृतले अनुमति दिन सक्नेछन् । भन्सार विधेयकमा रहेको पैठारी गरिएको वस्तुमा खराबी देखिएको, जुन उद्देश्यका लागि पैठारी गरिएको हो परिपूर्ति हुन नसकेमा त्यस्तो वस्तु भन्सार अधिकृतले फिर्ता पठाउन सक्ने प्रावधानलाई समेत समितिले पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्