काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरुले चन्दा उठाउन नपाउने गरी कानून निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आवश्यक कानूनको मस्यौदा तयार गरेको छ ।
निर्वाचनका बेलामा दलहरुले उद्योगी र व्यवसायीहरुसँग चन्दबापत ठूलो रकम संकलन गर्ने र नेतृत्वमा पुगेपछि उनीहरुकै अनुकुलमा नीतिगत निर्णय हुँदा त्यसले नीतिगत भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्दै आयोगले अब दलहरुले चन्दा उठाउन नपाउने कानून ल्याउने तयारी गरेको हो ।
दलहरुले चन्दा उठाउन नपाउने कानून निर्माण गर्ने तयारीसँगै आयोगले राजनीतिक दलहरुलाई सरकारले नै अनुदान दिन मिल्नेगरी कानून ल्याउने तयारी गरेको छ ।
आयोगले बिहीबार सार्वजनिक गरेको मस्यौदामा दलहरुले मापदण्डका आधारमा राज्यकोषबाट अनुदान पाउनेछन् । सो रकम दलहरुले निर्वाचनमा र दल सञ्चालनका लागि खर्च गर्न सक्नेछन् । यसरी राज्यकोषबाट अनुदान पाउने राजनीतिक दलहरुले अन्य उद्योगी/व्यवसायी तथा अन्य निकायबाट आर्थिक सहायता वा चन्दा लिन भने पाउने छैनन् ।
त्यस्तै, आयोगले राजनीतिक दलले चन्दा लिन नपाउने व्यवस्थासहित तयार गरेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव मागेको छ ।