काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा धेरै चर्चा गर्न विधिसम्मत नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हाल कुलमान घिसिङको विषयमा अदालतमा विचाराधीन भएकाले त्यसमा थप चर्चा गर्न विधिसम्मत नहुने बताएका हुन् ।
‘अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ’, ओलीले भने, ‘थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ ।’
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई सरकारले बर्खास्त गरेपछि विपक्षी दलहरुले संसदमा अवरोध गर्दै आएका थिए । सोही अवरोध चिर्दै प्रधानमन्त्रीले जवाफ दिने क्रममा कुलमानको विषयमा अदालतमा विचाराधीन भएकाले धेरै चर्चा नगर्ने बताएका छन् ।
त्यस्तै, ओलीले कुनै कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल नगरे चेन अफ कमाण्डले काम नगर्ने भन्दै विभागीय मन्त्रीको कामबारे पनि परीक्षण हुने बताएका छन् ।