काठमाडौँ । सोमबार (चैत २५ गते) मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।
सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल छ । एक मन्त्रीका अनुसार आज (सोमबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा गभर्नर नियुक्तिको एजेण्डा मूलभूत प्रस्तुत गरिँदैछ ।
‘मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ । सम्भवतः आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘बैठकमा गभर्नर नियुक्तिको एजेण्डा प्रस्तुत गरिने पक्का छ । अन्यथा नभएर आजै गभर्नर नियुक्तिको निर्णय पनि हुन्छ ।’
राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएपछि हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ ।