काठमाडौँ । ‘बैंक अफ दि एयर’को अवार्ड पाएपछि सबैतिर हाँसोको पात्र बनेको सिटिजन्स बैंकको नाफा २० प्रतिशत भन्दा बढीले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा २०.६० प्रतिशतले घटेको छ ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म कुल ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको एनपिएल पनि बढेर ५.७१ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाखबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि नाफामा भारी गिरावट आएको हो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७५ पैसा छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा बैंकको वित्तीय अवस्था साह्रै झुर देखिन्छ । बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । अझ बैंकबाट प्रवाह भएका केही ठूला ऋण नउठ्ने पक्का देखिएको छ ।
बैंकको वित्तीय अवस्था झन्झन् बिग्रिँदै जाँदा पनि बैंकका सिइओ गणेशराज पोखरेलले भने सार्वजनिक कार्यक्रममै बैंकको अवस्था र रिपोर्टको प्रशंसा गरेका छन् । आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजना गरिएको १८औँ वार्षिकोत्सव कार्यक्रममा पनि सिइओ पोखरेलले बैंकको प्रगति रिपोर्टका विषयमा प्रशंसा गरेका छन् । तर, बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले भने बैंक सहज अवस्थामा छैन भन्ने प्रष्ट देखाएको छ ।